Pura Samachar

म्यानचेस्टर सिटीकाे एस्टोन भिल्लामाथि ३–१ को सहज जित

प्रकाशित: February 13, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीकाे एस्टोन भिल्लामाथि ३–१ को सहज जित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले २२औं साताको खेलमा सहज जित निकालेको छ । आज आइतबार राति भएको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली एस्टोन भिल्लामाथि ३–१ को सहज जित निकालेको हो । यो जितका साथ सिटी पुनः दोस्रो स्थानमा चढेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले आफ्नो खेलमा लिड्स युनाइटेडलाई हराएर तेस्रोबाट दोस्रो स्थानमा चढ्दा सिटी दोस्रोबाट तेस्रोमा झरेको थियो ।

तर, केहीबेरपछि नै भएको आफ्नो खेलमा सिटीले भिल्लामाथि जित निकाल्दै ऊ पुनः दोस्रो स्थानमा फर्किंदा युनाइटेड तेस्रो स्थानमै झरेको छ । आफ्नो घरेलु मैदान इत्तिहात रंगशालामा भएको सिटीलाई जिताउने क्रममा ३ जना खेलाडीले गोल गरे । सिटीले खेलको चौथो मिनेटमै रोड्रीको गोलबाट अग्रता लिएको थियो । रियाद महारेजले हानेको कर्नर किकबाट आएको बलमा उनले हेडिङमार्फत् गोल गरेर टिमको खाता खोलेका थिए । उनको बललाई भिल्लाका गोलकिपरले रोक्न प्रयास गरे पनि सकेका थिएनन् ।

त्यसपछि सिटीले खेलको ३९औं मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक जर्मन खेलाडी इकाई गुन्डोवानले गोल गरे । उनको गोलमा युवा खेलाडी अर्लिङ हाल्यान्डले बक्स भित्रबाट राम्रो असिस्ट मिलाएका थिए । जसमा अनमार्क रहेका गुन्डोवानले सहजै गोल गर्न सफल भए । त्यसपछि पहिलो हाफकै इन्जुरी समयमा सिटीले पेनाल्टी पायो, जसमा महारेजले गोल गरेर सिटीलाई सहज अग्रता दिलाए । आजको खेलमा हाल्यान्डले पेनाल्टी नहानी महारेजले प्रहार गरेका थिए ।

३ गोलले पछि परेको अवस्थामा भिल्लाले ६१औं मिनेटमा १ गोल फर्कायो । उसका लागि सब्सिच्यूट खेलाडी ओइले वाटकिन्सले गोल गरेपछि गोल अन्तर घट्यो । तर, त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा खेल सिटीले ३–१ को अन्तरमा जित्यो । आजको खेलमा सिटीका दुई जना खेलाडी रियाद महारेज र हाल्यान्ड एक–एकपटक सुनौलो अवसरमा चुकेका थिए । अब यो जितपछि सिटीको खातामा २२ खेलपछि ४८ अंक भएको छ । सिटीले लिग लिडर आर्सनलसँगको दूरी ३ मा छोट्याएको छ । तर, आर्सनलले एक खेल कम खेलेको अवस्था छ ।

 

प्रतिक्रिया