Pura Samachar

पूर्व सभामुखअग्नि सापकोटाको मुद्दा लामो समयपछि संवैधानिक इजलासकाे पेसीमा

प्रकाशित: February 15, 2023
पूरा समाचार

पूर्व सभामुखअग्नि सापकोटाको मुद्दा लामो समयपछि संवैधानिक इजलासकाे पेसीमा

काठमाडौं- पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दा लामो समयपछि संवैधानिक इजलासमा पेसी तोकिएको छ।

काभ्रेपलान्चोकका अर्जुन लामा हत्या प्रकरणमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको मुद्दा ११ वर्षभन्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन रहेको छ।

बुधबार उक्त मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पेसी रहेको छ। उक्त मुद्दा १९औं नम्बरमा पेसी रहेको छ।

हत्यासम्बन्धी मुद्दा ११ वर्षदेखि विचाराधीन 
नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा अग्नि सापकोटा २१ वैशाख २०६८ मा माओवादी कोटाबाट सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। प्रहरीको ‘फरार’ सूचीमा रहेको व्यक्ति मन्त्री हुन नमिल्ने भन्दै त्यसअघि नै कनकमणि दीक्षितसहितले रिट दायर गरेका थिए। उक्त रिट खारेज भएको थियो। अदालतले रिट खारेज गरिसकेको अवस्थामा आफूलाई ‘फरार’ करार गरेको भन्दै सापकोटाले दीक्षित लगायतविरुद्ध ६ असार २०६८ मा अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती पुर्णिमायाले ७ मंसिर २०६९ मा उक्त घटनाको अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरिन्। उनले श्रीमानको हत्या सम्बन्धमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा अनुसन्धान अघि बढाउन माग गरेकी थिइन्। त्यसपछि पुनः सुशील प्याकुरेलसहितले २६ चैत २०७२ मा सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउने परमादेश माग गर्दै अर्को रिट दायर गरे।

प्रतिक्रिया