Pura Samachar

आर्सनल पुन: शीर्ष स्थानमा,म्यानचेस्टर सिटी फरेस्टसँग १ – १ गोलको बराबरीमा

प्रकाशित: February 19, 2023
पूरा समाचार

आर्सनल पुन: शीर्ष स्थानमा,म्यानचेस्टर सिटी फरेस्टसँग १ – १ गोलको बराबरीमा

लन्डन । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा नटिङ्‌घम फरेस्टसँग १ – १ गोलको बराबरीमा रोकिएको छ । यो नतिजाको फाइदा उठाउँदै आर्सनल पुन: शीर्ष स्थानमा फर्किएको छ ।

नटिङ्‌घम फरेस्टको घरेलु मैदानमा भएको खेलको ४१ औँ मिनेटमा पाहुना टोली सिटीले खाता खोलेको थियो । करिब २० यार्ड परबाट बर्नाडो शिल्भाले गोल गर्दै टिमको खाता खोलेका थिए । त्यसबाहेक अर्लिङ हालान्डले गरेको प्रहार बारमा लागेर फर्कियो । रिबाउन्ड भएको बलमा एमेरिक लापोर्तेले गरेको हेडरलाई फरेस्टका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरे ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा घरेलु टोली फरेस्टले गोल फर्कायो । मोर्गन वाइटले पोस्ट नजिकैबाट दिएको पासमा क्रिस उडले बराबरी गोल फर्काएका हुन् । त्यसपछि सिटीले गोल थप्न सकेन । बलमा राम्रो पोजिसन राखेर राम्रो फुटबल खेलेपनि गोल गर्न नसकेकोले अंक बाड्नु परेको सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले बताएका छन् ।

२ अंक गुमाएपछि दोस्रो स्थानको सिटीको २४ खेलबाट ५२ अंक भएको छ । यता आर्सनल एस्टोनभिल्लालाई ४ – २ गोलले हराउँदै पुन: शीर्ष स्थानमा फर्किएको छ ।

भिल्ला पार्कमा भएको खेलको पाँचौँ मिनेटमै ओले वाटकिन्सले घरेलु टोलीको खाता खोलेका थिए । तर आर्सनललाई खेल बराबरी गर्न मात्रै ११ मिनेट लाग्यो । एडी एनकेटियाको प्रहार पोस्टमा लागेर फर्किँदा सोही बलमा साकाले गोल गरेका हुन् । तर ३१ औँ मिनेटमा फिलिप कौटिन्होले गोल गरेपछि भिल्ला पहिलो हाफमा २ – १ ले अघि रह्यो । ६१ औँ मिनेटमा ओलेक्सान्दर जेनचेन्कोले गोल गरेर खेललाई पुन: बराबरीमा ल्याए ।

निर्धारित समय २ -२ गोलको बराबरीमा रोकिएपछि आर्सनल लगभग २ अंक गुमाउने अवस्थामा पुगेको थियो । इन्जुरी समयमा मिकेल आर्टेटाको टोलीले २ गोल थप्यो । थपिएको तेस्रो मिनेटमा जोर्जिन्होले डी बक्सभन्दा बाहिरबाट गरेको प्रहार बारमा लागेर फर्किएपनि गोलरक्षक इमी मार्टिनेजलाई लागेर गोल भएको थियो । वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले अन्तिम मिनेटमा १ गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे ।

यो जितपछि पुन: शीर्ष स्थानमा फर्किएको आर्सनलको २३ खेलबाट ५४ अंक भएको छ । यता दोस्रो स्थानको सिटीको २४ खेलबाट ५२ अंक छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफर्ड र क्रिस्टल प्यालेस १ – १ गोलको बराबरीमा रोकिए । फुलह्यामले ब्राइटनलाई १ – ० गोलले हराउँदा चेल्सी साउथह्याम्पटसँग १ – ० ले स्तब्ध भयो ।

एभर्टनले लिड्समाथि १ – ० गोलको साँघुरो जित हात पार्दा बर्नमाउथले उल्भ्सलाई १ – ० गोलले हरायो । न्युक्यासलमाथि लिभरपुलले २ – ० गोलको जित दर्ता गर्‍यो ।

प्रतिक्रिया