Pura Samachar

महिला टि२० विश्वकप २०२३: साविक विजेता अष्ट्रेलिया सेमिफाइनलमा

प्रकाशित: February 19, 2023
पूरा समाचार

महिला टि२० विश्वकप २०२३:  साविक विजेता अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ताहलिया म्याकग्राथले ३३ बलमा १० चौकासहित सर्वाधिक ५७ रनको योगदान दिइन् । एलिसा गार्डनर २८, बेथ मुनी २० र एलिसा हेली ११ रनमा आउट भइन् । दक्षिण अफ्रिकाकी मरिजान कप्पले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । दक्षिण अफ्रिकाकी तजिमन ब्रिट्सले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाइन् । अष्ट्रेलियाकी जर्जिया वेयरहामले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ समूह ए मा शीर्ष स्थानमा रह्यो । अष्ट्रेलियाले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ । समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया