
काठमाडौं । रवीन्द्र जडेजाले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै सात विकेट लिनुका साथै विराट कोहलीले २५ हजार अन्तर्राष्ट्रिय रन पूरा गरेको खेलमा भारतले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा ६ विकेटको विजय हासिल गरेको छ ।
जितसँगै भारतले चार खेलको टेस्ट शृङ्खलामा २–० को अग्रता लिएको छ ।
पाहुना टोली अस्ट्रेलियाले ६१–१ को स्थितिबाट तेस्रो दिनको सुरुवात गरेको थियो । तेस्रो दिन थाल्दा अस्ट्रेलियाका ट्रभिस हेड ३९ र मार्नुस लाबुसेन १६ रन बनाएर क्रिजमा थिए । अलराउन्डर जडेजाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै सात विकेट लिएपछि अस्ट्रेलियाले ११३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
नयाँ दिल्लीस्थित अरुन जेट्ली रंगशालामा जडेजाले ४२ रन दिएर सात विकेट लिएका थिए । उनलाई रवीचन्द्रन आश्विनले तीन विकेट लिएर साथ दिएका थिए । अस्ट्रेलियाका लागि हेडले ४३ र लाबुसेनले ३५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलिया ११३ रनमा अलआउट भएपछि भारतले जितका लागि ११५ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पूरा गर्नेक्रममा ओपनर तथा कप्तान रोहित शर्माले ३१ रन बनाए । चेतेश्वर पुजाराले ३१ रन नै जोड्दा श्रीकर भरतले २३, विराट कोहलीले २० र श्रेयस ऐयरले १२ रन जोडे ।
प्रतिक्रिया