Pura Samachar

राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

प्रकाशित: February 24, 2023
पूरा समाचार

राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार आज अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो ।

निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो।

निर्वाचन आयोगका अनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म ५ वटा निवेदन परेको थियो । ती निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।

यसैगरी अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् ।

निर्वाचनका लागि संघका ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाताको नाम सार्वजनिक भएको छ ।

प्रतिक्रिया