
काठमाडौं। सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिटरमा ९ रुपैयाँ २० पैसा मूल्य बढाएको हो। दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रिय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गरेको थियो। त्यसैको आधारमा सरकारले मूल्य बढाएको हो।
‘यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ थियो। अहिले ९ रुपैयाँ २० पैसा बढाएर ६५.६० रुपैयाँ पुर्याएका छौं,’ सरकारको प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले भनिन्।
दैनिक ३१ लाख लिटर दूध उत्पादन हुने भए पनि पछिल्लो समय २५ लाख लिटरभन्दा कम उत्पादन भइरहेको छ।
दूधको आन्तरिक उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत व्यवसायीहरुले माग गरिरहेका छन्। तर, सरकारले दूधसहित दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया