Pura Samachar

मनाङ मर्स्याङ्दी अपराजित यात्रा कायम, एपिएफकाे महत्वपूर्ण जित

प्रकाशित: March 15, 2023
पूरा समाचार

मनाङ मर्स्याङ्दी अपराजित यात्रा कायम, एपिएफकाे महत्वपूर्ण जित

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा अपराजित यात्रा कायम गर्ने क्रममा दोस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा मनाङले न्यु रोड टिम (एनआरटी) लाई ३-१ ले हराएको हो ।

दुवै हाफमा गोल गरेको मनाङको जितमा रोशन राना मगर, कोफी कुडु र बेन्चबाट प्रवेश गरेका साइदजमोल दाभ्लातजोनोभले गोल गरे । एनआरटीका अशोक थापा मगरले सान्त्वना गोल फर्काए । यस जितसँगै मनाङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले ४ खेलमा ८ अंक जोड्दा जितविहिन एनआरटी भने पुछारबाट दोस्रोमा छ । एनआरटीको ४ खेलमा मात्र १ अंक छ ।

३१ औं मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुको पासमा रोहन खड्गीको प्रहार गोलरक्षक तथा कप्तान दिप कार्कीले उत्कृष्ट बचाउ गरे । ३७ मिनेटमा मनाङका सुमित श्रेष्ठको क्रस रनदिप पौडेलको फितलो प्रहार डिफेन्डरले क्लियर गरे । ३८ औं मिनेटमा रणदिप पौडेलको क्रसलाई रोशन राना मगरले पोष्टको जाली चुमाउँदै मनाङलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी क्षेत्रको ठिक बाहिर बल खोसेपछि प्राप्त बललाई रणदिपले पेनाल्टी क्षेत्रभित्र पठाएका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा कमल थापाको लामो प्रहार एनआरटीका गोलरक्षक पुजन होनाले बचाए । खेलको ५५ औं मिनेटमा लाल्नुन्जामाको पासमा दिपेश आले मगरको प्रहार मनाङका गोलरक्षक दिपले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गरे ।

६७ औं मिनेटमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै दाभ्लातजोनोभले दुई उत्कृष्ट मुभ सिर्जना गर्दै अग्रता दोब्बर पार्न निर्णायक भूमिका खेले । सुरुवातमा उज्बेकी विंगरको क्रसमा कोफी कुडोको हेडर गोलरक्षक पुजनले बचाए । लगत्तै प्राप्त छोटो कर्नरमा एनआरटीका गौरव श्रेष्ठले पेनाल्टी एरियामा उनैमाथि खराब ट्याकल गरेपछि मनाङले पेनाल्टी पाएको थियो । दाभ्लातजोनोभले उक्त पेनाल्टीमा गोल गर्दै मनाङलाई २-० ले अघि बढाए ।

८८ औं मिनेटमा टोगोका फरवार्ड कोफी कुडुले जित सुनिश्चित गरे । एनआरटिले आफ्नो हाफको मध्येतिर बल गुमाएपछि कुडुले एक्लै बल अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । इन्ज्युरी समयमा एनआरटिका लागि अशोक थापाले गोल गरे । उनले गौरव श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई हेडरमार्फत गोल गरेका थिए ।

त्यसअघि च्यासल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफ फुटबल क्लबले विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराएको थियो । जितसँगै एपिएफको ७ अंक तथा आर्मीको ५ अंक पुगेको छ ।

च्यासल मैदानमा मणीकुमार लामाको गोलमा एपिएफले महत्वपूर्ण जित निकालेको हो । ३७ औं मिनेटमा मणीले गरेको गोल निर्णायक बनेको थियो । अघिल्लो संस्करणमा एपिएफ र आर्मीले १–१ को बराबरी खेलेका थिए । आर्मीको भने चौथो खेलमा आइपुग्दा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

खेलको १५ औं मिनेटमा पदम तामाङको क्रस फरवार्ड नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मीले अग्रता लिने अवसर चुकाएको थियो । २० औं मिनेटमा आर्मीका दिनेश हेन्जनको क्रसलाई विकास खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २८ औं मिनेटमा आमीको नवयुगको पासमा कप्तान भरत खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरिउको थियो । लगत्तै २९ औं मिनेटमा भरतले विपक्षी गोलकिपर बिट भएको अवस्थामा नजिकबाट गरेको प्रहारलाई एपिएफका रक्षकले क्लियर गरे ।

एपिएफले ३७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । विपन श्रेष्ठको क्रस मणीले उत्कृष्ट फिनिसिङ गरेका थिए । ५८ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको फ्रिकिकलाई एपिएफका गोलकिपरले सहजै बचाए । ७७ औं मिनेटमा आर्मीका भरतको क्रस सनिस श्रेष्ठले क्लियर गरे। ८४ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा आएको बललाई टोप विष्टले सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने अवसर गुमेको थियो ।

प्रतिक्रिया