
एजेन्सी – परिवर्तित खेलाडीको रुपमा सिनियर टोलीमा डेब्यु गरेका फरवार्ड जोसेलु चम्कँदा स्पेनले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।
स्पेनले घरेलु मैदानमा नर्वेमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा स्पेनको सहज जितमा जोसेलुले दुई तथा ड्यानी ओल्मोले गोल गरे । पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित पक्का गर्यो ।
स्टेडियो ला रोसालेडा मालगामा शनिबार राति भएको खेलको १३औं मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछिको दुई गोल परिवर्तित खेलाडी जोसेलुको नाममा रह्यो । ८१औं मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान छिरेका जोसेलुले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्पेनलाई जित दिलाए ।
८४औं मिनेटमा फावियन रुइजको पासमा गोल गरेका जोसेलुले त्यसको एक मिनेटपछि नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल थप्न सफल भए ।
नर्वेविरुद्धको खेलमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेका ३२ वर्षीय जोसेलु सन् २००६ पछि स्पेनबाट डेब्यु गर्ने पाका खेलाडी बनेका छन् ।
यो सिजन क्लब फुटबलमा प्रभाव जमाएपछि जोसेलु प्रशिक्षक लुईस डेला फुइन्टेको नजरमा पर्दा अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए ।
यस जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । नर्वेले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।
प्रतिक्रिया