Pura Samachar

सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुने

प्रकाशित: March 30, 2023
पूरा समाचार

सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुने

काठमाडौं । सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहकाबीचमा आज वार्ता हुने भएको छ ।  पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच वार्ता हुने भएको हो ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बिचमा बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । छलफलमा सरकारी समितिका तर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन ।

सरकारले शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेको समिति गठन गरेको थियो ।

मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहेका छन् ।

प्रतिक्रिया