Pura Samachar

चेन्नई सुपर किङ्गसले रोयल च्यालेञ्जर्स ब्याङ्गलोरमाथि रोमाञ्चक जित

प्रकाशित: April 18, 2023
पूरा समाचार

चेन्नई सुपर किङ्गसले रोयल च्यालेञ्जर्स ब्याङ्गलोरमाथि रोमाञ्चक जित

इण्डियन प्रिमियर लिगको हाई–भोल्टेज खेलमा चेन्नई सुपर किङ्गसले रोयल च्यालेञ्जर्स ब्याङ्गलोरमाथि रोमाञ्चक जित निकालेको छ ।

एम चिन्नस्वामी स्टेडियममा सोमबार राति सम्पन्न खेलमा चेन्नईले घरेलु टोलि ब्याङ्गलोरलाई ८ रनले हराएको हो ।

२२७ रनको विशाल लक्ष्य पछ्याएको ब्याङ्गलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रनमात्र जोड्न सक्यो । ब्याङ्गलोरलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो तर चेन्नईका पथिरानाले १० रनमात्र दिए ।

पहिलो दुई विकेट १५ रनको योगफलमा गुमाएको ब्याङ्गलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ्ग गर्दै तेस्रो विकेटका लागि ६१ बलमा १२६ रनको शतकिय साझेदारी गरे ।

डु प्लेसिसले ३३ बलमा ६२ रन बनाए भने म्याक्सवेलले ३६ बलमा ७६ रन जोडे । यसबाहेक दिनेश कार्तिकले १४ बलमा २८ रन जोडे भने सुयश प्रभुदेशाईले १९ रन बनाए ।

बलिङ्गमा चेन्नईका लागि तुषार देशपाण्डले ३ विकेट लिए भने मथिसा पथिरानाले २ विकेट चट्काए ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नई सुपर किङ्गसले जारी सिजनकै सबैभन्दा बढी रन तयार पार्याे । ऊे निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रनको कुल योगफल खडा गरेको थियो ।

उसका लागि ओपनर डेभोन कन्वेले ४५ बलमा ८३ रन र शिवम दुबेले २७ बलमा ५२ रनको विष्फोटक पारी खेले । कन्वे र दुबे मिलेर ३७ बलमा ८० रनको साझेदारी निभाएका थिए । कन्वेको यो यस सिजनको दोस्रो र दुबेको पहिलो अर्धशतक हो ।

यी दुईबाहेक अजिंक्य रहाणेले २० बलमा ३७ रन बनाए भने मोइन अलिले नटआउट १९ रन बनाए ।

ब्याङ्गलोरका लागि वायन पारनेल, विजयकुमार वैशाक, मोहम्मद सिराज, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

जितसँगै ५ खेलमा ६ अंक जोडेको चेन्नई अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ४ अंक रहेको ब्याङ्गलोर सातौं स्थानमा छ ।

प्रतिक्रिया