Pura Samachar

एसीसी प्रिमियर कप २०२३ आजबाट नेपालमा शुरु हुँदै ,नेपालले मलेसियाको सामना गर्दै

प्रकाशित: April 18, 2023
पूरा समाचार

एसीसी प्रिमियर कप २०२३ आजबाट नेपालमा शुरु हुँदै ,नेपालले मलेसियाको सामना गर्दै

काठमाण्डौं । एशियन क्रिकेट काउन्सिलले पहिलोपटक आयोजना गर्न लागेको एसीसी प्रिमियर कप २०२३ आज (मंगलबार) बाट नेपालमा शुरु हुँदैछ ।

नेपालमा हुन लागेको एसीसी प्रिमियर कप आजबाट काठमाण्डौंमा शुरु हुन लागेको हो प्रतियोगिता अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले मलेसियाको सामना गर्दैछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबिचको उद्घाटन खेल बिहान ९ः३० बजे बाट शुरु हुनेछ । मलेसियाबिरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आज जितसहित घरेलु प्रिमियर कपमा सुखद शुरुवातको योजनामा हुनेछ ।

मलेसिया नेपालका लागि चिरपरिचत प्रतिद्वन्दी हो । किनकी नेपालले यसअघि पनि धेरै पटक मलेसियासँग प्रतिस्पर्धा गरिसकेको छ । मलेसियासँगको पछिल्लो पाँच भेटमा नेपाल अपराजित छ ।

नेपाल आज पनि घरेलु मैदानको फाइदा उठाउँदै मलेसियाविरुद्धको पुरानै लयलाई निरन्तरता दिने चाहनामा हुनेछ । नेपालले मलेसियासँग पछिल्लो पटक सन् २०१८ मा एशिया कप छनौटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियाकै घरेलु मैदानमा भएको सो खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

यता पाँच वर्षपछि नेपालबिरुद्ध मैदानमा उत्रिने तयारीमा रहेको मलेसिया पनि आज जितका साथ नेपालबिरुद्धको आफ्नो खराब लयलाई सुधार गर्नेछ लक्ष्यमा हुनेछ । त्यसपछि नेपालले आफ्नो दोश्रो खेल बैशाख ८ गते ओमान, तेश्रो बैशाख ११ गते साउदी अरेबिया तथा चौंथो खेल बैशाख १४ गते कतारसँग खेल्नेछ ।

यस्तै मंगलबार नै हुने अर्को खेलमा हङ्गकङ्गले सिंगापुरको सामना गर्नेछ । मुलपानीस्तिथ मुलपानी क्रिकेट मैदानमा हुने यो खेल पनि बिहान ९ः३० बाट नै शुरु हुनेछ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यो नै पहिलो अन्तर्राष्ट्रिय खेल हो । त्यसैले मंगलबार मुलपानी क्रिकेट मैदानको लागि विषेश दिनको रुपमा हेरीएको छ ।

हङ्गकङ्ग र सिंगापुरबिचको खेलसँगै मुलपानी क्रिकेट मैदानले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्नेछ । घरेलु प्रतियोगिताका खेलहरु हुँदै आएको मुलपानी मैदानमा यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल भएको छैन । मुलपानीमा एसीसी प्रिमियर कप अन्तर्गतका १० खेल हुँदैछन् ।

१० राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।

बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

फाइनलको विजेताले आगामी सेप्टेम्बरमा आयोजना एशिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । एशिया कप आगामी जुलाईमा हुनेछ ।

यसैगरी शीर्ष तीनमा रहने टोलीले एशिया ईमर्जिङ्ग कपका लागि आफ्नो स्थान पक्का

गर्नेछ ।

एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टोलीः

रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने

प्रतिक्रिया