
काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय टोली नेपाल एपीएफ क्लबले डिफेन्डिङ्ग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दशौं चरणको खेलमा एपीएफले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितका लागि अर्मान्ड बिडुमले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको ३९ औं मिनटमा गोल गरेका हुन् ।
त्यसपछि मछिन्द्रले एपीएफलाई जितबाट रोक्नको लागि पाएको मौकाको सदुपयोग गर्न नसक्दा पराजित हुन बाध्य भयो ।
जितसँगै १० खेलबाट १४ अंक जोडेको एपीएफ आठौं स्थानमा उक्लिएको छ ।
यता पराजित मछिन्द्र समान खेलमा १३ अंकसहित नवौं स्थानमा झरेको छ ।
च्यासलस्थित च्यासल मैदानमा बुधबार सम्पन्न दशौं चरणको खेलमा जावलाखेलले पुलिसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । जावलोखलको जितका लागि हिसुब थपलिया र एनकोटो मासाअबीले दुइ-दुई गोल गर्दा फोडे फोफोना र अब्दुल्लाजिजले एक एक गोल गरे । पुलिसका लागि मोसेस ट्युमले एक गोल फर्काए ।
फोडेले २९ औं मिनटमा पेनाल्टीमार्फत गोल गरेपछि पहिलो हाफमा जावलाखेल १-० ले अघि रहेको थियो । ५१ औं मिनटमा हिसुबको गोलबाट जावलाखेलले २-० को अग्रता लियो ।
६५ औं मिनटमा एनकोटोले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाएका थिए । ८१ औं मिनटमा एनकोटोले व्यक्तिगत दोश्रो गोल गरेपछि जावलाखेल ४-० ले अघि रह्यो ।
८४ औं मिनटमा हिसुबको व्यक्तिगत दोश्रो गोलमा जावलाखेल ५-० ले अघि रह्यो । ८८ औं मिनटमा पुलिसका मोसेसले गोल गरेपछि खेल ५-१ को स्थितिमा पुगेको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा अब्दुल्लाजिजले गोल गर्दै जावलाखेललाई ६-१ गोलको जित दिलाए । जितसँगै शिर्ष स्थानको जावलाखेलले १० खेलबाट २० अंक जोढेको छ । यता पराजित पुलिस समान खेलमा पाँच अंकसहित तालिकाको पुछारमा रहेको छ।
प्रतिक्रिया