
काठमाडौं। आर्थिक मन्दीका कारण बजार कसरी प्रभावित भएको छ भनेर पेट्रोलियम पदार्थको खपतले देखाउँछ। अहिले न त पेट्रोल-डिजलको माग पहिलेजस्तो छ, न त खाना पकाउने ग्यासकै। कतिसम्म भने हवाई इन्धनको मागसमेत घटेको छ।
समग्र बजार चक्र बिग्रिँदा पेट्रलियम पदार्थको मागमा उच्च गिरावट आएको हो। समष्टीगत माग घटेका कारण बजार प्रभावित छ। मूल्यवृद्धि उक्लिएको अनुपातमा पेट्रोलियम पदार्थको कारोबारबाट अपेक्षित आम्दानी छैन।
उद्योगधन्दाका उत्पादनहरु घटेका छन्, बिक्री भएका सामानको पनि पैसा उठेको छैन। ठूला उद्योगहरु क्षमताको ४० प्रतिशत हाराहारी मात्र चलेका छन्।
औद्योगिक करिडोरमा लोडसेडिङ सुरु भए पनि डिजलको माग उल्टै घटेको छ। यसबाहेक भारतभन्दा महँगो मूल्यका कारण पनि पेट्रोलियम पदार्थको खपत उल्लेख्य रुपमा घटेको हो।
पछिल्लो समय पर्यटक आगमनमा वृद्धि भएको तथ्यांकमा देखिए पनि वायुसेवाको उडान संख्या घटेको हवाई इन्धनको खपतले देखाउँछ। टिकटको अग्रिम बुकिङ खुला राखेका वायुसेवाका निश्चित उडानमा कतिपयका सबै बिक्री हुँदैनन्। त्यस्ता फ्लाइट अर्कोमा मर्ज गरेर कम्पनीहरुले उडान गर्दै आएका छन्। यसले पनि हवाई इन्धनको माग घटेको हो।
भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको ९ महिनामा अघिल्लो वर्षको तुलनामा पेट्रोल र डिजल ४ लाख किलोलिटरले घटेको छ भने ग्यास ८० लाख ९७ हजार २ सय ५० केजीले घटेको छ।
गत वर्षको चैतसम्म सरकारले डिजल र पेट्रोल १८ लाख ५१ हजार ४७२ किलोलिटर डिजल र पेट्रोल आयात भएका थिए। चालु आवको सोही अवधिमा १४ लाख ५१ हजार ५७ किलोलिटर आयात गरेको छ।
विभागको तथ्यांक अनुसार, गत वर्षको चैतसम्ममा कुल ३९ करोड ५७ लाख २८ हजार ६८ किलो एलपीजी ग्यास आयात भएको थियो। यो चालु आवको सोही अवधिमा ३८ करोड ७६ लाख ३० हजार ८१८ किलो एलपीजी ग्यास आयात भएको छ।
यसैगरी, हवाई इन्धनको खपत भने धेरै घटेको देखिन्छ। विभागको तथ्यांक अनुसार, यो वर्षको ९ महिनामा ५ लाख ७९ हजार ९८४ किलोलिटर हवाई इन्धन आयात भएको छ। तर गत वर्ष सोही अवधिमा २३ लाख ८७ हजार ९८० किलोलिटर आयात भएको थियो।
यो वर्ष खपत घटेपनि डिजल र पेट्रोलको मूल्य भने बढेर आएका कारण यसमा सरकारको आयतमा गत वर्षको भन्दा धेरै पैसा पनि बाहिरिएको छ।
विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा ग्यास, पेट्रोल, हवाई इन्धन, मट्टितेल र डिजलको आयातमा मात्रै २ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ देश बाट बाहिरिएको हो। गत वर्ष भने ९ महिनाको अवधिमा २ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ मात्र बाहिरिएको थियो। यो भनेको गत वर्षको तुलनामा १८ अर्ब धेरै हो।
चालु आवको ९ महिनामा यसबाट सरकारले ७५ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ। गत वर्ष यसै अवधिमा ८२ अर्ब ६९ करोड राजस्व संकलन गरेको थियो। यो वर्ष खफत घटे सँगै राजस्वमा भने धक्का लागेको छ।
प्रतिक्रिया