Pura Samachar

गुजरात अंकतालिकाको शिर्ष स्थानमा,मुम्बई इण्डियन्स पराजित

प्रकाशित: April 23, 2023
पूरा समाचार

गुजरात अंकतालिकाको शिर्ष स्थानमा,मुम्बई इण्डियन्स पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्गससँग मुम्बई इण्डियन्स पराजित भएको छ ।

वान्खेडे स्टेडियममा शनिबार राति भएको रोमाञ्चक खेलमा पञ्जाबले घरेलु टोलि मुम्बईलाई १३ रनको झिनो अन्तरले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१४ रनको विशाल योगफल खडा गरेको थियो ।

उसका लागि कप्तान साम कर्रनले २९ बलमा ५५ रनको अर्धशतकिय पारी खेले भने हरप्रित सिंहले २८ बलमा ४१ रन बनाए । यसबाहेक अथर्ब टाइडेले २९ रन, प्रभसिमरन सिंहले २६ र जितेश शर्माले २५ रन जोडेका थिए ।

बलिङ्गमा मुम्बईका लागि क्यामेरन ग्रिन र पियुष चावलाले समान २–२ विकेट लिए भने अर्जुन तेन्दुल्कर, जेसन बेह्रनडर्फ र जोफ्रा आर्चरले समान एक एक विकेट हात पारे ।

यसपछि २१५ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रिएको मुम्बईले प्रतिस्पर्धात्मक ब्याटिङ्ग गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा २०१ रनमात्र बनायो ।

उसका लागि क्यामेरन ग्रिन र सूर्यकुमार यादवले अर्धशतकिय पारी खेले । ग्रिनले ६७ र सूर्यकुमारले ५७ रन बनाए । यसबाहेक कप्तान रोहित शर्माले ४४ र टीम डेभिडले नटआउट २५ रन जोडे ।

पञ्जाबका लागि बलिङ्गमा अर्शदीप सिंहले ४ विकेट लिए भने नाथन इल्लिस र लायम लिभिङ्गस्टोनले समान एक एक विकेट चट्काए ।

जितसँगै ७ खेलमा ८ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा उक्लिएको छ भने ६ खेलमा ६ अंक रहेको मुम्बई सातौं स्थानमा झरेको छ ।

इण्डियन प्रिमियर लिग (आईपीएल) को हाई–भोल्टेज क्ल्यासमा गुजरात टाइटन्सले लखनउ सुजर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।

श्री अटल विहारी वाजपेयी एकाना सटेडियममा शनिबार साँझ सम्पन्न खेलमा गुजरातले घरेलु टोलि लखनउमाथि ७ रनको रोमाञ्चक जित निकालेको हो ।

गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १२८ रनमात्र बनाउन सक्यो ।

उसका लागि कप्तान केएल राहुलले ६८ रनबनाए भने काइल मेयर्सले २४ र क्रुणाल पाण्ड्याले २३ रनको पारी खेले ।

बलिङ्गमा गुजरातका लागि नुर एहमद र मोहित शर्माले समान २–२ विकेट र राशिद खानले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग रोजेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै जम्मा १३५ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान हार्दिक पाण्ड्याले ६६ रनको अर्धशतकिय पारी खेले भने ऋद्धिमान साहले ४७ रन बनाएका थिए ।

लखनउका लागि बलिङ्गमा क्रुणाल र मार्कश स्टोइनिसले समान २–२ विकेट लिए भने नविन उल हक र अमित मिश्राले समान १–१ चट्काए ।

जितसँगै ७ खेलमा १० अंक जोड्दै गुजरात अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा ८ अंक रहेको लखनउ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया