
इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आईतबार) डबल हेडर खेल हुँदैछ ।
आईपीएल अन्तर्गत आजको पहिलो खेल चेन्नई सुपर किङ्गस र पञ्जाब किङ्गसबीच हुनेछ । यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम चेपोकमा दिउँसो ३ः४५ बजेबाट शुरु हुनेछ ।
चेन्नईको घरेलु मैदान चेपोकमा हालसम्म खेलिएका ६ खेलमध्ये पञ्जाबले दुई मात्रै जितेको छ भने चेन्नईले चार खेलमा जित हात पारेको छ ।
दुवै टोली यो सिजन पहिलो पटक आमने–सामने हुँदैछन् । पछिल्लो खेलमा दुवै टोलीले हार बेहोरेको थियो । चेन्नई राजस्थान रोयल्ससँग ३२ रनले पराजित भएको थियो भने पञ्जाबलाई लखनउ सुपर जायन्ट्सले ५६ रनले हराएको थियो ।
चेन्नई सुपर किंग्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । चेन्नईले आफ्नो पछिल्लो खेल राजस्थान रोयल्ससँग हारेको थियो । चेन्नईको अहिले १० अंक छ ।
डेभन कोन्वे, मोइन अली, मथिशा पाथिराना र महिश थिक्साना पञ्जाबविरुद्ध टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र तुषार देशपाण्डे जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।
पञ्जाब किङ्गसले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले चार जित र चार खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा पञ्जाब लखनउसँग पराजित भएको थियो । पञ्जाबको अहिले ८ अंक छ ।
चेन्नईविरुद्ध टोलीका ४ विदेशी खेलाडी सिकन्दर रजा, लायम लिभिङ्गस्टोन, साम कर्रण र कागिसो रबाडा हुन सक्छन् । यी बाहेक शिखर धवन, अर्शदीप सिंह र शाहरुख खान जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।
चेन्नई र पञ्जाबबीच अहिलेसम्म कुल २७ खेल खेलिएको छ र यसमा चेन्नईको अग्रता छ । अहिलेसम्म खेलेका खेलमध्ये चेन्नईले १५ खेल जितेको छ भने पञ्जाबले १२ खेल जितेको छ ।
आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुनेछन् । यो खेल साँझ ७ः४५ बजेबाट शुरु हुनेछ ।
प्रतिक्रिया