Pura Samachar

संकटा, सहज जित थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी

प्रकाशित: May 9, 2023
पूरा समाचार

संकटा, सहज जित  थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबमाथी सहज जित दर्ता गरेको छ।

च्यासल मैदानमा मंगलबार दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो ।

संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे ।

खेलको १४औं मिनेटमा गोल गर्दै युसेफले संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै खेलको २६औं मिनेटमा युसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए ।

जितसँगै १६ खेलमा २० अंक जोडेको संकटा अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ ।

१६ खेलमा २३ अंक रहेको सातदोबाटो पाँचौं स्थानमा छ ।

मंगलबार दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

थ्री स्टारलाई जित निकाल्दै शीर्ष स्थानको चर्च ब्वाईजसँग अंक बराबरी गर्ने अवसर थियो । तर टिमले एनआरटीविरुद्ध जित निकाल्न भने सकेन । दुवैै टिमले खेलमा पर्याप्त अवसर पाएका थिए तर गोल गर्न भने सकेनन् ।

थ्री स्टारविरुद्ध प्राप्त अंकले एनआरटीलाई भने राहत दिएको छ । उसले रेलिगेशन जोनमा रहेको खुमलटार भन्दा एक अंक बढी जोडेर १८ अंक बनाएको छ । थ्री स्टार २५ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो लेगको खेलमा समेत एनआरटीले थ्री स्टारलाई १–० ले हराएको थियो । दोस्रो लेगमा थ्री स्टारलाई निराश बनाएका एनआरटीका गोलकिपर सन्तोष महत म्यान अफ दी म्याच चुनिए ।

प्रतिक्रिया