
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्गसले दिल्लीमाथि शानदार जित निकालेको छ । अब चेन्नईले एक खेल जितेमा प्ले-अफमा स्थान पक्का गर्नेछ ।
चेपोकको एमए चिदम्बरम स्टेडियममा बुधबार राति भएको खेलमा चेन्नईले दिल्लीमाथि २७ रनको जित हासिल गरेको हो । चेपोकमा यो दिल्लीको ९ खेलमा सातौं हार हो ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको घरेलु टोलि चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रनको योगफल खडा गरेको थियो ।
उसका लागि शिवम् दुबेले सर्वाधिक २५ रन बनाउँदा रुतुराज गायकवाडले २४, अम्बाती रायडुले २३ रन बनाएका थिए । यसबाहेक अजिंक्य रहाणे र रविन्द्र जडेजाले समान २१–२१ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले २० रन जोडेका थिए ।
बलिङ्गमा दिल्लीका लागि मिचेल मार्शले ३, अक्सर पटेलले २ तथा खलिल एहमद, ललित यादव र कुलदीप यादवले समान एक एक विकेट हात पारेका थिए ।
जवाफमा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १४० रनमात्र जोड्न सक्यो ।
उसका लागि राइली रोस्सोले ३५, मनिष पाण्डेले २७ र अक्सर पटेलले २१ रन जोडे ।
चेन्नईका लागि बलिङ्गमा मथिसा पथिरानाले ३, दीपक चाहरले २ र रविन्द्र जडेजाले एक विकेट हात पारे ।
जितसँगै चेन्नई १२ खेलमा १५ अंक जोड्दै दोस्रो स्थानलाई थप मजबुत बनाएको छ । यता हारको सामना गरेको दिल्लीले भने समान खेलमा ८ अंकका साथ पुछारमा यथावत रहँदै प्ले–अफमा पुग्ने सम्भावनालाई कमजोर बनाएको छ ।
प्रतिक्रिया