
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाईज युनाईटेडले मछिन्द्र क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार चर्च ब्वाईजले मछिन्द्रलाई २–१ गोल अन्तरले हरायो ।
खेलमा अग्रता चर्च ब्वाईजले अन्जन विष्टको गोलमा खेलको ४० औं मिनेटमा लिएको थियो ।
ओमोलाजा करिमले ६६ औं मिनेटमा मछिन्द्रका लागि बराबरी गोल फर्काएका थिए । ७१ औं मिनेटमा प्रदीप भण्डारीले आत्मघाति गोल गरेपछि चर्च ब्वाईज २–१ ले अघि बढेको थियो ।
जित सहित चर्च ब्वाईज तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १६ खेलबाट ३० अंक जोडेको छ । उसले दोस्रो स्थानको जावलाखेलसँग तीन अंकको अग्रता लिएको छ ।
मछिन्द्र २४ अंक सहित तालिकाको चौथों स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले हराएको हो ।
अर्मान्ड विडोङ्गले ४० औं मिनेटमा एपीएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए ।
पहिलो लेगको खेलमा समेत एपीएफले आर्मीलाई हराएको थियो । एपीएफ तालिकामा २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।
प्रतिक्रिया