
काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) तिन ठूला खेलहरु हुँदैछन् ।
आज हुने तिन खेलहरुमध्ये एक च्यासलस्थित च्यासल मैदानमा र बाँकी दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दिउँसो ३ बजेटबाट दशरथ रंगशालामा हुने खेलमा चर्च बोइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीविरुद्ध मैदानमा उत्रदा चर्च बोइज शिर्ष स्थानमा उक्लने दाउमा हुनेछ ।
शिर्ष स्थानमा रहेको जावलाखेलसँग ३० अंकको बराबरीमा रहेपनि चर्च बोइज ‘हेड टु हेड’ को आधारमा पछि परेको कारण अंकतालिकामा दोस्रो स्थानमा छ ।
लगातार चार खेल जितेको चर्च बोइज उच्च मनोबलका साथ मैदानमा उत्रने पक्का छ यद्यपी उसले आर्मीसँगै पहिलो लेगको खेलमा १–० गोल अन्तरको हार ब्यवहोरेको थियो ।
आर्मी भने १६ खेलमा २१ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
दिउँसो तीन बजे च्यासल मैदानमा हुने खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार १६ खेलमा २५ अंकका साथ लिगको तेस्रो स्थानमा छ भने मछिन्द्र समान खेलमा २४ अंकका साथ चौथो स्थानमा छ ।
यी दुईबिच भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सक्किएको थियो । दुबै टोलि आजको खेलमा जित निकाल्दै लिग उपाधि जित्ने होडलाई कायम राख्न चाहन्छन् ।
यस्तै आजै साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा एपिएफ फुटबल क्लब र सातदोबाटो युथ क्लब आमने–सामने हुनेछन् ।
एपीएफ १६ खेलमा २२ अंकका साथ छैठौं स्थानमा छ भने सातदोबाटो समान खेलमा २३ अंकका साथ पाँचौं स्थानमा छ । यीदुईबिचको पहिलो लेगमा सातदोबाटो १–० गोल अन्तरले विजयी बनेको थियो ।
आजको खेलमा दुबै टोलि जित निकाल्दै उपाधि दौडलाई कायम राख्ने सोचसहित मैदानमा देखा पर्ने निश्चित छ ।
प्रतिक्रिया