
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आर्मीले चर्च ब्वाईज युनाईटेडलाई हराएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाईजलाई १–० ले हराएको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्कीले ४३ औं मिनेटमा विजयी गोल गरे । जितसँगै ए डिभिजन लिगको उपाधि होड थप पेचिलो बन्ने देखिएको छ ।
चर्च ब्वाईजलाई लिग तालिकामा तीन अंकको अग्रता लिने अवसर प्राप्त थियो । तर कमजोर मानिएको आर्मीले राष्ट्रिय खेलाडीले भरिएको चर्चलाई १–० ले स्तब्ध बनायो ।
जित सहित आर्मी उपाधि होडमा फर्किएको छ । उसले १७ खेलबाट २४ अंक जोडेको छ । चर्च ३० अंक सहित दोस्रो स्थानमा यथावत छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले एपीएफविरुद्ध ३–० को जित निकालेको हो ।
सातदोबाटोको जितमा दिपक सिंह ठुकुरी नायक रहे । उनले दुई गोल गरे । अर्को गोल विलियमको नाममा रह्यो ।
खेलमा अग्रता सातदोबाटोले विदेशी खेलाडी विलियमको गोलमा १३ औं मिनेटमा लिएको थियो ।
दिपक सिंह ठकुरीले ३६ औं मिनेटमा ललितपुरे क्लबको अग्रता दोब्बर बनाए । उनले ७७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ३–० को शानदार जित दिलाए ।
जित सहित सातदोबाटो १७ खेलमा २६ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । एपीएफ २२ अंक सहित सातौं स्थानमा छ ।
च्यासल मैदानमा शनिबार भएको खेलमा मछिन्द्रले थ्री स्टारमाथि १–० को जित निकालेको हो । मछिन्द्रको जितमा युटा सुजुकीले खेलको नवौं मिनेटमा विजयी गोल गरे ।
जित सहित मछिन्द्र उपाधि होडमा फर्किएको छ । उसको शीर्ष स्थानको जावलाखेलसँगको दुरी तीन अंकको मात्र रहेको छ ।
मछिन्द्रले १७ चरणको खेलको समाप्तिमा २७ अंक जोडेको छ । थ्री स्टार २५ अंक सहित पाँचौं स्थानमा छ । लिगमा शानदार सुरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा नतिजाका हिसाबले खस्किएको छ ।
थ्री स्टारविरुद्ध प्राप्त जितले मछिन्द्रलाई उपाधि होडमा फर्काएको छ । शीर्ष क्लब चर्च ब्वाईजले शनिबार ब्यहोरेको हारले उपाधि होडलाई थप खुकुलो बनाईदिएको छ ।
प्रतिक्रिया