
बार्सिलोनाले स्पेनिस लालिगाको उपाधि जितेको छ ।
रिकार्डाे डी बुर्गाेस स्टेडियममा सोमबार बिहान भएको खेलमा स्पान्योललाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले चार वर्षपछि लालिगाको उपाधि उचाल्ने निश्चित भएको हो । बार्साले पछिल्लोपटक २०१७/१८ को सिजनमा लालिगाको उपाधि जितेको थियो ।
बार्साको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेजान्ड्रो बाल्डे र जुल्स कुन्डेले एक एक गोल गरे ।
खेलको ११औं मिनटमा लेवान्डोस्कीले बार्साको खाता खोलेका थिए ।
२०औं मिनटमा बाल्डेले गोल गर्दै बार्साको अग्रता दोब्बर बनाए भने ४०औं मिनटमा लेवान्डोस्कीको ब्यक्तिगत दोस्रो गोलमा बार्साले पहिलो हाफमा ३–० को अग्रता कायम गरेको थियो ।
५३औं मिनटमा कुन्डेले गोल गर्दै बार्साको अग्रतालाई ४–० को अवस्थामा पुर्याए ।
यसपछि हाभियर पुआडो र जोसेलुले गोल गर्दै स्पान्योलको हारको अन्तरलाई ४–२ मा घटाएका थिए ।
हाफ टाइममा बार्सिलोना ३–० ले अगाडि थियो, रोबर्ट लेवान्डोस्कीले सिजनको आफ्नो २० औं लिग गोल गरेपछि १९ वर्षीय अलेजान्ड्रो बाल्डेले अग्रता दोब्बर बनाए।
जितसँगै बार्सिलोनाको ३४ खेलमा ८५ अंक भएको छ जुन निकटतम प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा १४ अंक बढी हो । अब लालिगामा ४ खेल बाँकी छ र सबै खेल जितेमा पनि १२ अंक बढ्नेछ ।
लियोनेल मेस्सीले अगस्ट २०२१ मा बार्सा छोडेपछि यो पहिलो ला लिगा उपाधि हो र जाभी नोभेम्बर २०२१ मा प्रशिक्षक नियुक्त भएपछिको पनि पहिलो लालिगा उपाधि हो ।
यसैबीच, पछिल्लो ११ खेलमा नवौं हारको सामना गरेको स्पान्योल रेलिगेसनको खतरामा छ । स्पान्योल ३४ खेलमा ३१ अंकका साथ १९औं स्थानमा छ ।
प्रतिक्रिया