
हिजोसम्म चप्पल लगाउन नसक्ने नेताहरूको अहिले घर, घडेरी, जग्गा जमिन, गाडी सबै थोक छ । यति छोटो समयमा त्यो कसरी सम्भव भयो ? आज जनता यही प्रश्न उठाउँदै छन । जनतालाई गुलिया आस्वासन देखाएर राजनीति गर्ने र तीनै सोझा जनताको भोटलाई खुड्किलो बनाएर माथि पुग्ने नेताहरू आज सबै बिर्सिएर बसेका छन् । राजनीति दल र तिनका नेताप्रति नै जनताले विश्वास गर्न छोडेका छन् । जनतालाई अल्मल्याउँदै यो गर्छौं र ऊ गर्छौं भन्ने पुरै भ्रम छरिएको रहेछ । अब जनता भ्रममा पर्ने छैनन् । तिनै नेताहरूले हिजो धनी र गरिब बराबर बनाउने हो भनेर भाषण गर्दै हिँडे । आज सत्तामा पुगेपछि सबै कुरा बिर्सिएर बसेका छन् । आलोपालो सरकारमा गएर देश लुटेको लुटै छन् । गरिब जनताको अवस्था हिजोभन्दा आज नाजुक छ ।
महँगीले केही छुन सकिँदैन । महँगी दिनप्रतिदिन आकाशिएको छ । यस्तो भएपछि अब के गर्ने ? राजनीति दल र तिनका नेताहरूलाई देश र जनताका बारेमा कुनै चिन्ता नै छैन । देशका बारेमा सोच्ने उनीहरूलाई कुनै फुर्सद नै छैन । खाली आफनो स्वार्थको राजनीतिका ब्यस्त देखिन्छन । अहिले देशको भविष्य सोच्ने राजनेता नभएर हामीले दुःख पाइरहेका छौँ । मुलुकको विकासलाई कहाँ पु¥याउने भन्ने कुनै गन्तव्यको टुंगो छैन । देश अस्तब्यस्त छ । वर्तमानका कुरा गर्ने हो भने त संकटग्रस्त नै छ, भविष्य पनि संकटमुक्त हुने लक्षण अहिलेसम्म देखिएको छैन । शासकहरूले मोज गरिरहेका छन् । शासकहरूले जनतालाई विश्वास दिलाउन सकिरहेको अवस्था छैन ।
देशको अर्थतन्त्र संकटग्रस्त छ । जनजीवनमा संकट आएको छ । युवाहरूको मुहारमा चमक छैन । धेरै युवाहरू देशको यो अवस्था देखेर निराश देखिन्छन् । मुलुकलाई उन्नतिको बाटोतर्फ डो¥याउन अब धेरै ढिला भइसकेको अवस्था छ । अब पनि मुख्य गठबन्धन राजनीतिक दलहरूले सत्ता केन्द्रित राजनीतिलाई नै आफ्नो गन्तव्य बनाएर बसिरहने हो भने मुलुकको भविष्य संकटग्रस्त अवस्थामा पुग्ने निश्चित छ । सबैले आआफ्ना स्वार्थ बोकेर हिँडिरहेका छन् । तर विडम्बना, राष्ट्र र जनताको लागि सोच्ने नेता कोही भएनन् । सत्ता केन्द्रित र स्वार्थ केन्द्रित राजनीतिले मुलुक बर्बाद हँुदै छ । मुलुकसामु समस्यै समस्या छन् । यी समस्या समाधान गर्न कोही अग्रसर हुँदैन किन ? राष्ट्रले खोजेको र जनताले रुचाएको राजनीतिक पार्टी अबको आवश्यकता हो ।
मुलकका सबैजसो क्षेत्र अहिले राजनीतिक अनिश्चितताको सिकार भएका छन् । निरन्तर अधोगतितर्फ उन्मुख हुँदै छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर छ । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । नीतिगत भ्रष्टाचारले राज्य संयन्त्रहरू ग्रस्त छन् । रेमिट्यान्सको भरमा मुलुक सञ्चालित छ । विकास बजेट खर्च हुन नसकेर बजेट फ्रिज भएर जानेजस्तो गम्भीर अवस्था सिर्जना भएको छ । स्थानीय निकाय भ्रष्टाचारको अखडा बन्दै छन् । राजनीतिक दलहरू सत्तामा मात्र बस्न खोज्ने तर देश र जनताको पक्षमा सिन्को समेत भाँच्न सकेनन् । भ्रष्टाचार गर्नु भनेको देश र जनताप्रतिको निकृष्ट बेइमानी हो । जनताको विश्वासमा कुठाराघात हो । यसले आधुनिक समाजमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ । लोकतन्त्र र संघीयताप्रति नै वितृष्णा फैलिएको छ । राजनीतिमा नातावाद र परिवारवादले देशको स्वार्थभन्दा राजनीतिक स्वार्थ हाबी भएको छ । के यही हो संघीयता ?
पद र पैसाले मानिसलाई अन्धो बनाएको छ । संघीयताको मर्म भनेको लैंगिक र सामाजिक समावेशिताको सिद्धान्तबाट निर्देशित हुनु हो । तर हाम्रो देशको संघीयता नातावाद र परिवारवादमा मात्र सीमित हुन पुगेको छ । सरकार र प्रतिपक्ष दुवैले निहित स्वार्थभन्दा माथि उठेर देशको सार्वभौमिकतालाई बचाउनुपर्दछ । जनतालाई अब पनि भ्रष्टाचार र अनियमितताको मूकदर्शक नै बनाइरहने हो भने संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र लोकतन्त्रजस्ता विषयको कुनै अर्थ रहँदैन । जनताको जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । देशको अर्थतन्त्रले संघीयता धान्न सकिरहेको छैन । कर्मचारीले समयमा तलब पाउन नसकेको समाचार आइरहेका छन् । यो दुःखद् कुरा हो । ब्यापार व्यवसाय ठप्प छन । आर्थिक मन्दीको गन्ध आइरहेको संकेत देखिन्छ । जे होस् देश सही बाटोमा छैन भन्ने बुझन सकिन्छ ।
आज देशमा कसैले पनि आफ्नो भूमिकालाई रचनात्मक बनाउन सकिरहेका छैनन् । संवाद र सहमतिका माध्यमबाट मुलुकलाई निकास दिने मार्गतर्फ दलहरू अघि बढ्न सकेका छैनन । राष्ट्र र जनताको सर्वोपरि हित, विकास, सुशासन, राजनीतिक स्थिरता नै मुलुकको भविष्य हो । सबै आ–आफ्नै अस्तित्व र सम्मानका लागि चिन्तित देखिन्छन् । राष्ट्रको अस्तित्वको भन्दा सबैले आआफ्नो अस्तित्व रक्षाको चिन्ता गरेर बसेका छन् । यसले गर्दा राष्ट्र कमजोर बन्दै गएको छ । जसले जे गरे पनि केही नहुने स्थिति बनिरहेको छ । मुलुकमा भएका समस्या समाधान गर्न दलहरू तयार देखिँदैनन् । सबैलाई मिलाएर मुलुकलाई अग्रगमनतर्फ डो¥याउने क्षमता कहीँ–कतैबाट देखा पर्न सकेको छैन । जस्तोसुकै हथकण्डा अपनाएर भए पनि आफू सत्तामा रहिरहने नेताहरूको सोच छ । यसले सबै बिग्रिएर गएको छ । मुलुकको भविष्य बिग्रदा गरिब जनताको भविष्य बिग्रने हो ।
राष्ट्रको मूल समस्या के हो ? यो बारे नेताहरू गम्भीर बन्नु पर्दैन ? मूल समस्याको पहिचानविना त्यसको समाधान हुन सक्दैन । समस्या जहाँको त्यहीँ छ तर दलहरू सरकार फेरबदलमा नै समय बर्बाद गरिरहेका छन् । कुनै एउटा सरकारले पूरा समयसम्म शासन सञ्चालन गर्न सकिरहेका छैनन् । जुन कारणले गर्दा मुलुकका समस्याहरू एकपछि अर्को थपिने क्रम जारी छ । जनप्रतिनिधिहरू जनताका हितका पक्षमा लागि पर्नुपर्ने हो, तर त्यो पनि देखिएन । नेताहरू सत्ता परिवर्तनको खेलमा मात्रै लागिरहनु राम्रो कुरा होइन । जुन सरकारले जनताको जिउ–धनको रक्षा गर्न सक्दैन, मुलुकमा स्थिरता कायम गर्न सक्दैन, सुशासन कायम गर्न सक्दैन, त्यस्तो सरकारको के अर्थ ? अहिले मुलुक वास्तवमै राजनीतिक संकटमा छ । मुलुक सम्हाल्न राजनीतिक दलहरू के असफल भएकै हुन् त ? यो प्रश्न बलियो बन्दै गएको छ ।
राजनीतिक दलहरूले अब आफ्ना असफलता र कमजोरीलाई स्वीकार गरी सत्ता स्वार्थको मोह त्यागेर देशलाई अघि बढाउने बाटोतर्फ अग्रसर हुनुपर्छ । जनताको अपेक्षा र भरोषासँग कसैले खेलवाड गर्न पाइँदैन । राजनीति पेसामा परिणत भएको छ । अनि भ्रष्टाचार त्यहीँबाट सुरु हुन्छ । नेपाली समाजलाई भ्रष्टाचारमुक्त राख्ने हो भने राजनीतिको मुहान नै सफा गर्नुपर्छ । नेपालमा भ्रष्टाचार र अनियमितताका काण्ड जे जसरी बाहिरिएका छन्, ती राम्रा पक्ष होइनन् । यसले राजनीतिलाई बदनाम गराएको छ । गणतन्त्र बहालीको डेढ दशक बितिसक्दा पनि देशले विकास र स्थायित्वको मार्ग समाउन नसक्नु दुःखद् छ । गणतन्त्र र संघीयताको शत्रु भ्रष्टाचार हो । देशमा सुशासन कायम गर्न नसक्नु दलहरूको ठूलो कमजोरी हो । देशमा भोक, रोग, गरिबी, बेरोजगारीजस्ता समस्या बढिरहेका छन् । दलहरूका नेता नसुध्रिएसम्म यहाँ केही हँुदैन । न विकास हुन्छ । न समृद्धिले गति लिन सक्छ । व्यवस्था केवल भजाएर खाने प्रणालीमा मात्रै सीमित भएको छ । अब पनि हामीले नेताहरूलाई खबरदारी गर्न सकेनौँ भने हाम्रो देशको भविष्य अन्योल नै हुने निश्चित छ ।साभार साेर्यदैनिक
प्रतिक्रिया