
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले इमर्जिङ टिम्स एसिया कप क्रिकेटको खेलतालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता आगामी जुलाइ देखि श्रीलंकामा हुँदैछ । नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग जुलाई १४ अर्थात् असार २९ गते खेल्नेछ । प्रतियोगिता १३ जुलाइदेखि २३ जुलाइसम्म हुनेछ। नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूहमा यूएई, पाकिस्तान ए र भारत ए छन् ।
समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। टेस्ट राष्ट्रका ५ टोलीले भने २३ वर्षमुनिको टीम पठाएका छन्। एसोसियट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ । पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ। नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ। शीर्ष २ मा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ । एसीसीले एसोसियट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्न लागेको हो ।
नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा भने गरिसकेको छैन । नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो । पाकिस्तानले मोहम्मद हरिसको कप्तानीमा इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तानको टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् । यस्तै, भारतले यश धुलको नेतृत्वमा टिम घोषणा गरेको छ ।
प्रतिक्रिया