Pura Samachar

सरकारले आइतबार एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी

प्रकाशित: July 11, 2023
पूरा समाचार

सरकारले आइतबार  एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो ।

आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावलीले आर्थिक वर्षको अन्तिम साता बजेट भुक्तानी दिन नहुने उल्लेख गरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७६ अर्ब रुपैयाँबराबर थियो । आइतबार बजेट खर्चको अन्तिम दिनसम्म आइपुग्दा खर्च १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपैयाँ नाघेको छ ।

असारमा मात्रै सरकारले १ खर्ब ६० अर्ब १ करोड ९२ लाख रुपैयाँ बजेट भुक्तानी दिएको छ । जेठमा पनि सरकारले १ खर्ब ३० अर्ब ९६ करोड ३३ लाख भुक्तानी दिएको थियो । गत वैशाखमा भने १ खर्ब ४६ अर्ब ९५ करोड भुक्तानी दिएको थियो । सरकारले चैतमा भने १ खर्ब १९ करोड भुक्तानी दिएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया