
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजदेखि तय गरेको केन्द्रीय कमिटीको बैठक दुईघण्टा ढिलो गरी मात्र शुरु हुने भएको छ । आज बिहान ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने गरी तय भएको केन्द्रीय कमिटीको बैठक अब दिउँसो १ बजेदेखि मात्र शु हुने भएको हो ।
माओवादी केन्द्रको उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकका लागि एजेण्डा तय गर्न केन्द्रीय पदाधिकारी र स्थायी कमिटीको बैठक बसिरहेकाले केन्द्रीय कमिटीको बैठक दुईघण्टा ढिलो गरी बस्ने तय भएको छ ।
आजको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता महराले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र केन्द्रीय कमिटीका सबै सदस्यलाई बोल्न दिइने बताउनुभयाे ।
त्यस्तै, नेपाली कांग्रेसले झैँ आफ्नो केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरेको माओवादी केन्द्र आफ्नो निर्णयबाट पछि हटेकाे छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको छ ।
अधिकांश नेताहरुले आन्तरिक बैठक लाइभ नगर्न सुझाव दिएपछि पार्टी नेतृत्व उनीहरुको भनाइ मान्न बाध्य भएको हो ।
प्रतिक्रिया