Pura Samachar

साविक उपविजेता नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित: August 6, 2023
पूरा समाचार

साविक उपविजेता नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं : साविक उपविजेता नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अस्ट्रेलियाको सिड्नीमा भएको अन्तिम १६ को खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम ८ मा प्रवेश गरेको हो।

नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुर्ड र लिनेथ बिरेन्स्टेयनले एक(एक गोल गरे। जिलले नवौँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाइन् भने लिनेथले ६८ औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरिन्।

दक्षिण अफ्रिका पहिलो पटक अन्तिम १६ मा पुगेको थियो। निकै शसक्त खेल प्रस्तुत गरेको दक्षिण अफ्रिका गोल गर्न भने चुक्यो।

यस्तै  आजै दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिका आमनेसामने हुनेछन्। समूह जी मा इटाली र अर्जेन्टिनालाई पछि पार्दै स्वीडेनले नकआउट राउन्डमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

साविक विजेता अमेरिका समूह ई मा तीन खेलबाट पाँच अंक जोड्दै उपविजेता बनेको थियो।

दुवै टोली एक अर्काविरुद्ध ४४ औँ पटक मैदान उत्रदैछन्। यसअघि खेलिएका खेलहरु मध्ये अमेरिकाले २३ र स्वीडेन ८ खेल जितेको छ।

 

प्रतिक्रिया