
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।
संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका हुन्। मंगलबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक–पटक संसद् अवरुद्ध पार्दै आएको छ। सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए।
एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राष्ट्रपति पौडेलले अवरोध अन्त्यको प्रयास गरेका थिए।
आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राष्ट्रपति पौडेललाई भेटेर संसद अवरोध अन्त्यका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए।
संसद्को गतिरोध हटाउने विषयमा आइतबार प्रधानमन्त्री दाहालले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो। बैठक आज पनि बोलाइएको छ।
प्रतिक्रिया