
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टरका दुबै टोली पराजित भएका छन् । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस सँग १–० को हार बेहोरेको छ ।
ह्वाकीम एन्डरसनले खेलको एकमात्र गोल गरेका थिए । खेलको २५औं मिनेटमा एन्डरसनले गरेको गोल युनाइटेडलाई पराजित गर्न पर्याप्त रह्यो । मंगलबार इएफएल कपमा भने युनाइटेडले प्यालेसलाई ३–० ले हराएको थियो तर आज भने पराजय भोग्न बाध्य भयो ।
प्रिमियर लिगमा युनाइटेडको यो सातौं खेलमा चौथो हार हो । युनाइटेडले ३ खेल जितेको छ र ९ अंक सहित दशौैं स्थानमा छ । क्रिस्टल प्यालेस भने ११ अंक सहित नवौं स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर सिटीले वल्भससँग २–१ ले पराजित भयो । खेलमा वल्भसले १३औं मिनेटमा रुबेन डियासको आत्मघाती गोलबाट अग्रता लिएको थियो। तर ५८औं मिनेटमा जुलियन अलभारेजले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।
त्यसको आठ मिनेट पछि वल्भसका लागि ह्वांग ही–चानले गोल गर्दै खेलमा पुनः टोली अग्रता दिलाएका थिए । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो । प्रिमियर लिगको यो सिजनमा पहिलो हार बेहारेको सिटी ६ जितका साथ १८ अंक लिएर शीर्षस्थानमा यथावत छ । वल्भस ७ अंकसहित १३औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत आज राती १०ः१५ बजे टोटेनहाम र लिभरपुल भिड्दै छन्। लिभरपुल विजयी भएमा पहिलो स्थानमा उक्लनेछ ।
प्रतिक्रिया