Pura Samachar

नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: October 24, 2023
पूरा समाचार

नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ।  मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-१९ एसिया कप खेल्न चाहन्छन्।

युएई र नेपाल एकैस्तरका टोली भएकाले आफूहरुले राम्रो क्रिकेट खेलेर उपाधि जित्ने लक्ष्य राखेको मुख्य प्रशिक्षक जगत टमाटाले बताए।  हाल मलेसियामा लगातार वर्षा भइरहेकाले खेल प्रभावित हुन सक्ने चिन्ता प्रशिक्षक र खेलाडीलाई छ। अघिल्लो पटक पनि नेपालले यूएईलाई नै पराजित गर्दै च्याम्पिन बनेको थियो। नेपाल यस पटक पनि सोही नतिजालाई दोहोर्याउने योजनमा छ।​

प्रिमियर कपमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा नेपालका अर्जुन कुमाल र दोस्रो स्थानमा कप्तान देव खनाल छन्।  अर्जुनले १ सय ७५ र देवले १ सय ३२ रन बनाएका छन्। दुई खेलमा ६-६ विकेट लिएका दिपेश कँडेलको नाममा १५ विकेट छ। उनी सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन्।

प्रशिक्षक टमाटा सबै खेलाडीको प्रदर्शनबाट सन्तुस्ट छन्। नेपालले समूह चरणका तीन वटै खेलमा जित हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २ सय ७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३ सय २ रनले पराजित गरेको थियो।

वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १ सय ४३ रनको फराकिलो जित निकालेको थियो। सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ए छन्। एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ। नेपाल आगामी वर्ष श्रीलंकामा हुने एसीसी अन्डर नाइन्टिन विश्वकपका लागि यस अघिनै छनोट भइसकेको छ।

 

प्रतिक्रिया