आईतवार भएको खेलमा आयोजक राष्टसमेत रहेको भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको हो ।

एकपक्षिय फराकिलो जितसंगै भारतले ८ खेलमा शतप्रतिशत जितलाई निरन्तरता दिँदै १६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित दक्षिण अफ्रिकाको पनि समान ८ खेलमा ६ जित र दुई हारसंगै १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

भारतको कोलकोतास्थित इडेन गार्डेन रंगशालामा भएको खेलमा ३२७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७.१ ओभरमा अलआउट हुँदा मात्र ८३ रन जोड्न सक्यो ।

दक्षिण अफ्रिकाका लागि मार्को जन्सनले ३० बलमा १ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट हुँदा कप्तान तेम्बा बाभुमा र डेभिड मिल्लरले ११–११ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, रास्सीइ भान डेर डुसानले १३ रन जोड्दा एइडिन माकराम ९, क्विन्टन डि कक ५, केशब महाराज ७, कागिसो राबडा ६ र हेनरिक क्लासेन १ रनमा पेविलियन फर्किए ।

यता, ताब्राइज शाम्सीले ४ रन जोड्दै अविजित रहँदा लुङ्गी एनगिडी शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा २ रन जोड्यो ।

उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिकालाई सस्तैमा अलआउट गर्न भारतका लागि रविन्द्र जडेजाले ९ ओभर बलिङ गर्दै १ मेडनसहित ३३ रन दिएर सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शामीले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कुलदिप यादवले ५.१ ओभर बलिङ गर्दै १ मेडन राखेर मात्र ७ रन दिएर २ विकेट लिँदा मोहम्मद सिराजले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर ११ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३२६ रन जोड्यो ।

भारतका लागि विराट कोहोलीले १२१ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक १०१ रनको शतकिय पारी खेल्दै अविजित रहे ।

विराटको उक्त शतक करियरको ४९ औं शतकसमेत रह्यो । यो भनेको भारतका लेजेण्डरी क्रिकेटर सचिन तेन्दुलकरको क्रीतिमानी शतकसंग बराबरी हो ।

त्यस्तै, श्रेयस ऐयरले ८७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकिय पारी खेल्दा कप्तान रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोड्दै पेविलियन फर्किए ।

यता, सुभम गिलले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्दै आउट हुँदा सुर्यकुमार यादवले १४ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर अविजित रहँदा विकेटकिपर केएल राहुलले १७ बलमा ८ रन जोडेर पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा २६ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडी, मार्को जन्सन, कागिसो राबडा, केशब महाराज र तबराइज शाम्सीले समान १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोली (सोमवार) बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।