
एजेन्सी । पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिको लागि भारतसँग खेल्नेछ ।जितका लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । मिचेल स्टार्क ३५ बलमा २ चौकासहित १६ र प्याट कमिन्स २९ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे । अष्ट्रेलियाका ओपनर ट्रविस हेडले ४८ बलमा ९ चौका र २ छक्कासहित ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए ।
पहिलो विकेटका लागि वार्नर र हेडले ६.१ ओभरमा ६० रनको आक्रमक सुरुवात दिलाएका थिए । वार्नर एडेन माक्ररमको बलमा बोल्ड आउट भए । हेड अर्का स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए । मिचेल मार्श रबाडाको बलमा शुन्यमा क्याच आउट भए । एक समय अष्ट्रेलिया १४ ओभरमा १०६-२ को अवस्थामा थियो ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले पनि टोलीलाई जितको लागि पर्याप्त हुन सकेन । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए । एक समय २४-४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। तर त्यसपछि पुन राम्रो साझेदारी हुन सकेन ।
अष्ट्रेलियाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । भारतले २ र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । यी दुई टोलीले २००३ को विश्वकपछि फाइनल खेल्न लागेका हुन् ।
प्रतिक्रिया