
काठमाडौं :न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश १ सय ५० रनले विजयी भएको छ। घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध टेस्टमा बंगलादेशको यो पहिलो जित हो। योसँगै घरेलु टोलीले २ खेलको टेस्ट सिरिजमा १(० को अग्रता बनाएको छ।
यसअघि बंगलादेशले गत वर्ष न्युजिल्यान्डकै मैदानमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेपछि दुई टेस्टको शृंखला १(१ को बराबरीमा सकिएको थियो।
सिल्हटमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय १० रन बनाएको थियो भने उसले भ्रमण टोलीलाई ३ सय १७ रनमा रोकेको थियो।
बंगलादेशका लागि दोस्रो इनिङ्समा कप्तान नजमुल हुसेन शान्तोले शतक प्रहार गरे। उनले १ सय ५ रनको बलियो इनिङ खेलेका थिए।
मुस्फिकुर रहिमले ६७ रन र मेहदी हसन मिराजले ५० रनको इनिङ खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। बंगलादेशले दोस्रो इनिङ्समा ३ सय ३८ रन बनाएपछि न्यूजिल्यान्डले ३ सय ३२ रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्समा किवी टोलीले १ सय ८१ रन मात्रै बनाउन सकेपछि बंगलादेश १ सय ५० रनले विजयी भएको हो।
योसँगै बंगलादेश पछिल्लो २४ महिनामा दोस्रो पटक न्युजिल्यान्डविरुद्धको टेस्ट म्याच जित्न सफल भएको छ। दुई देशबीचको दोस्रो तथा अन्तिम टेस्ट शेर बंगला राष्ट्रिय रंगशाला, ढाकामा बुधबार सुरु हुने छ।
प्रतिक्रिया