Pura Samachar

वीरगंज युनाइटेडले ललितपुर सिटी एफसीविरुद्ध रोमाञ्चक बराबरी

प्रकाशित: December 5, 2023
पूरा समाचार

वीरगंज युनाइटेडले ललितपुर सिटी एफसीविरुद्ध रोमाञ्चक बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा वीरगंजले पछाडि परेको अवस्थामा २-२ को बराबरी खेल्दै ललितपुरबाट एक अंक खोसेको हो ।

पहिलो खेलमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २-१ को हार ब्यहोरेको वीरगंज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । अंक जोडेपनि वीरगंज तालिकाको पुछारमै यथावत छ ।

ललितपुरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २-० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो । ललितपुर ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत रह्यो ।

रक्षक जाजे गुस्ताभो महंगो सावित हुँदा ललितपुरले वीरगंजविरुद्ध एक गोलको अग्रता लिएको थियो । ललितपुरको दुवै गोलमा जाजेले गल्ती गर्न पुगेका थिए । खेलमा पहिलो गोल भने वीरगंजले गरेको थियो । दोस्रो हाफको सुरुआती सात मिनेटमै वीरगंजले बराबरी गोल फर्काउन सफल भयो ।

 

सुरुआती पाँच मिनेट भित्रै ललितपुरले दुई अवसर सृजना गर्यो । रक्षक ओमालाजा करिमको फ्रिकिक प्रहार पोस्टको दिशा लिनुअघि नै वीरगंजका रक्षक ऐकिङ्स बाफोरले हेडमार्फत क्लियर गरिदिए । जवाफी कर्नरमा पनि ललितपुर गोलको निक्कै करिब पुगेको थियो । तर, अनिल महर्जनको कर्नरमा अनन्तको हेडर गोलकिपर दीप कार्कीले बचाए ।

१० औं मिनेटमा वीरगंजले मिडफिल्डर विलियम ओपकु ऐसेडुको गोलमा अग्रता लियो । बक्सबाहिर अनिलले बललाई क्लियर गर्न नसक्दा यसको फाइदा औबेद औसुले लिएका थिए । औबेदले विलियमलाई दिएको पासलाई कप्तान अनन्तले क्लियर गर्न खोजे तर, सकेनन् । जवाफमा विलियमको लेफ्ट फुटेड लोअर प्रहारले गोलकिपर जेफेरी विली मार्सेललाई बिट गर्दै गोल पोस्टको जाली चुम्यो ।

फ्रेन्च गोलकिपर जेफेरीले जारी प्रतियोगितामा पहिलो गोल खाएका हुन् । यसअघिका तीन खेलमा ललितपुरले ‘क्लिन सीट’ राख्न सफल भएको थियो ।

वीरगंजको अग्रता तीन मिनेट पनि टिक्न सकेन । १३ औं मिनेटमा मिडफिल्डर सेसेहाङ आङ्दाङ्बेको लङ रेन्ज थ्रु बललाई सदुपयोग गर्दै फरवार्ड इमोन एजिकिलले सुन्दर गोल गरे । इमोनले वान भर्सेस वानमा मार्की तथा कप्तान दीप कार्कीलाई बिट गर्नुअघि रक्षक जाजे गुस्ताभोलाई बिट गरेका थिए ।

२४ औं मिनेटमा इमोनको प्रहारलाई मिडफिल्डर बिशोन गुरुङले क्लियर गरिदिए । त्यसको तीन मिनेटपछि ललितपुरले खेलमा अग्रता लियो । यसपाली पनि जाजे वीरगंजका लागि महंगो सावित भए । फरवार्ड दीनेश हेन्जनको पासलाई क्लियर गर्न खोज्दा जाजेले बललाई नियन्त्रण गर्न सकेनन् । जसको फाइदा उठाउँदै मिडफिल्डर निखिल कदमले १९ यार्डबाट सुन्दर गोल गरे । निखिलको लोअर प्रहारले पहिलो बारको जाली चुमेको थियो ।

३७ औं मिनेटमा विशोनको क्रसमा ओबेदको फ्रिहेडर बाहिरिएको थियो ।

५२ औं मिनेटमा वीरगंजले खेललाई २-२ को बराबरीमा ल्यायो । उसका लागि दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका क्रिपा कान्त थारुले रिबाउन्ड बलमा ट्याप इन गोल गरे । ३५ यार्ड नजिकैबाट विलियमले प्रहार गरेको फ्रिकिक पहिलो बारको टप कर्नरमा लागेर फर्किएको थियो । रिबाउन्ड बललाई रक्षक अनन्तले क्लियर गर्न नसक्दा क्रिपाले फाइदा लिएका हुन् । यसअघि अनन्तले नै ओबेदलाई फउल  गरेपछि वीरगंजले फ्रिकिक प्राप्त गरेको थियो ।

५७ औं मिनेटमा अर्का वैकल्पिक खेलाडी जय गुरुङले गरेको शक्तिशाली प्रहार दोस्रो बारमा लागेर फर्किएपछि ललितपुरको खतरा टरेको थियो ।

७४ औं मिनेटमा रक्षक सनिश श्रेष्ठको क्रसमा इमोनको हेडर बाहिरिन पुग्यो । त्यसको तीन मिनेटपछि ललितपुरले अर्को अवसर सृजना गर्यो । २५ यार्ड नजिकै ओबेदले इमोनलाई लडाएपछि ललितपुरले फ्रिकिक प्राप्त गरेको थियो । तर, ऐकिन्सको लोअर प्रहारले कुनै पनि खतरा सृजना गर्नुअघि विलियमले त्यसलाई क्लियर गरिदिए ।

इन्जुरी समयको अन्तिम सेकेन्ड्समा अनन्तको स्तरीय फ्रिकिक प्रहार दीपले बचाएपछि वीरगंजले अंक सुरक्षित गर्यो । यसअघि ओबेले सेसेहाङलाई फउल गरेपछि ललितपुरले ३० यार्ड नजिकै फ्रिकिक प्राप्त गरेको थियो ।

प्रतिक्रिया