
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदै छन् । बिहान साढे ९ बजे त्रिवि मैदानमा सुरु हुने खेलमा बागमतीले कोशी प्रदेशको सामना गर्नेछ । त्यसैगरी, मूलपानी मैदानमा कर्णालीले गण्डकीको सामना गर्ने तालिका छ ।
हिजो सुरु भएको प्रतियोगितामा कोशी, बागमती, लुम्बिनी र एपीएफले जित दर्ता गरेका थिए । त्यसैगरी, गण्डकी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेश आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।
हिजो जित दर्ता गरेको बागमती आज कोशीलाई हराउने लक्ष्यमा हुनेछ । तर कोशीमा राष्ट्रिय टिमका पूर्वकप्तान रुविना क्षेत्रीसँगै, अप्सरी बेगम, काजल श्रेष्ठ, संगीता र सबनम राईजस्ता अनुभवी खेलाडी छन् । त्यसैगरी हिजो पराजित भएका कर्णाली र गण्डकीलाई आज जित दर्ता गर्ने अवसर हुनेछ ।
आजै दिउँसो सवा १ बजे त्रिवि मैदानमा मधेश प्रदेशले एपीएफको सामना गर्नेछ । एपीएफले हिजो सुदूरपश्चिमलाई हराएको थियो । उपाधि दाबेदारसमेत रहेको सिता राना मगरको टोली आज पनि जित दर्ता गर्ने लक्ष्यमा छ । राष्ट्रिय महिला टिमका करिब आधा खेलाडी भएकाले एपिएफ निकै बलियो मानिन्छ ।
आज मधेश पनि पहिलो खेल जित्ने दाउमा हुनेछ । दिउँसो साढे १ बजे नै हुने अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्नेछ । यो खेल मूलपानी मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक महिला क्रिकेटको प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा सञ्चालन गरिरहेको छ ।
प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ ।
प्रतिक्रिया