
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार दोषी ठहर गरेपछि पर्साका सन्दीप लामिछानले फाइनल गुमाए । पुलिसलाई च्याम्पियन बनाउन करण केसीले अलरान्ड प्रदर्शन गरे ।
नारायणी रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । पुलिसका दिलिप नाथले १७ रनको योगदान दिए । शंकर रानाले १९, अर्जुन साउदले २६ र कप्तान आरिफ शेखले १६ रन बनाए । करण केसीले अविजित ४० रनको योगदान दिए । आक्रामक इनिङ्स खेलेका उनले १७ बलमा ५ छक्का प्रहार गरे । पर्साका सेफुल्लाह अन्सारी र पवन सर्राफले २-२ विकेट लिए ।
१ सय ४६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पर्सा ११ ओभरमा ४५ रनमै समेटियो । उसका अनिल साहले १३ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् । पर्सालाई रोक्न सागर ढकालले ४, ललित राजवंशी र रसिद खानले २-२ तथा करण केसी र शेर मल्लले १-१ विकेट लिए ।
प्रतिक्रिया