पूर्वप्रधानमन्त्रीहरुसमेत जयशंकरलाई भेट्न लाम लागेर होटेल पुगेका थिए । सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत होटेलमै पुगेका थिए ।
त्यसैगरी एमाले अध्यक्ष केपी ओलीसँग पनि होटेलमै भेटवार्ता गरे । देउवा, ओली र नेपालसँग छुट्टाछुट्टै भेटेपछि उनीहरुका टोलीसँग पनि सामूहिक भेटेका जयशंकरले मधेस केन्द्रीय दलका नेताहरुसँग भने सामूहिक भेटवार्ता गरेका थिए ।
विदेशमन्त्री जयशंकरले गठबन्धन दलका नेताहरुलाई विकास र राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिन दलहरु मिलेर जानुपर्ने उनको सुझाव थियो ।
मधेस केन्द्रित दलका नेताहरुसँगको भेटवार्तामा जयशंकरले मधेस र विकासका मुद्दामा दलहरुलाई एकजुट भएर अघि बढ्न सुझाव दिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा भने जयशंकरले नेपालको राजनीतिक स्थायित्व र विकासका लागि भारत सधैं साथमा रहने प्रतिबद्धता जनाएको नेता राजन भट्टराई जानकारी दिए । त्यस क्रममा ओलीले दुई देशबीच भएका पूर्वसहमति कार्यान्वयन गर्न सुझाव दिएका थिए ।
यसअघि भारतका विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुकै कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया