Pura Samachar

स्पेनिस सुपर कपमा रियल मड्रिड फाइनल प्रवेश

प्रकाशित: January 11, 2024
पूरा समाचार

स्पेनिस सुपर कपमा रियल मड्रिड फाइनल प्रवेश

काठमाडौं । स्पेनिस सुपर कपमा रियल मड्रिड फाइनल प्रवेश गरेको छ ।

बुधबार रियल मड्रिडले शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडमाथि ५–३ को जित निकालेको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयबाट खेलको निर्णय गरिएको थियो । अतिरिक्त समयमा दुई गोल गर्दै रियल प्रतियोगिताको फाइनल पुगेको हो ।

साउदी अरबमा भएको खेलमा अग्रता एट्लेटिको मड्रिडले मारियो हर्मोसाको हेड गोलमा लिएको थियो । एन्टोनी रुडिगरले हेडमार्फतनै खेल बराबरीमा ल्याएका थिए ।

फेरलेन्ड मेन्डीले रियल मड्रिडलाई पुन खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन तीन मिनेटअघि एन्टोनी ग्रिजम्यानले कीर्तिमानी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ग्रिजम्यानले एट्लेटिकोका लागि कीर्तिमानी १ सय ७४ गोल गरेका छन् ।

दोस्रो हाफमा रियलका रुडिगरको आत्मघाति गोलमा एट्लेटिको मड्रिड खेलमा अघि बढेको थियो । खेल सकिन ५ मिनेटअघि कार्भाजलले गोल गर्दै अतिरिक्त समयमा खेललाई धकेलेका थिए ।

अतिरिक्त समयमा स्टिफन सेविकको आत्मघाति गोल र ब्राहिम डियाजको गोलमा रियल फाइनल पुगेको हो ।

रियलले उपाधिका लागि बार्सिलोना वा ओसासुनासँग खेल्नेछ । बिहीबार दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना खेल्दैछन् ।

फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया