
काठमाडौं । तपस्वी भनिएका रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा राखिको छ ।
बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरीस्थित जलेश्वर जिल्ला कारागार लगिएको छ। बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएको सहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट भने बाल यौन दुरुपयोग मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
अदालतले बिहीबार बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानिलकण्ठबाट मंगलबार पक्राउ गरेका बम्जनलाई बुधबार सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया