
काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आईतबार बार्सिलोनालाई हराउँदै रियलले सुपर कपको उपाधि जितेको हो ।
साउदी अरबमा भएको फाइनल खेलमा रियलले बार्सिलोनालाई ४–१ गोल अन्तरले हरायो ।
रियल मड्रिडको जितमा नायक रहे, भिनिसियस जुनियर । उनले ह्याट्रिक गरे । अर्को एक गोल रोड्रिगोको नाममा रह्यो ।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।
अरौजो रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले ७१ मिनेट पछिको खेल १० खेलाडीमा रहेर सकेको थियो ।
खेलको सातौं मिनेटमा भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछिनै भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।
बार्सिलोनाका लेवान्डोस्कीले ३३ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर पहिलो हाफ सकिन ६ मिनेटअघिनै भिनिसियसले ह्याट्रिक गर्दै रियललाई पहिलो हाफमा ३–१ को अग्रता दिलाउन सफल भए ।
अर्का ब्राजिलियन सहकर्मी रोड्रिगोले ६४ औं मिनेटमा गोल गर्दै रियलको जित ४–१ ले सुनिश्चित गरेका थिए । गत नोभेम्बरमा ह्यामस्ट्रिङ चोट बोकेका भिनिसियस भर्खरै मैदान फर्किएका हुन् ।
रियलले १३ औं पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले कीर्तिमानी १४ औं पटक यो उपाधि जितेको छ ।
प्रतिक्रिया