
काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा लगातार दोस्रो पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग ५ विकेटले पराजित भयो । समूह डी बाट नेपाल र अफगानिस्तान बाहिरिएका छन् ।
यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन् । दुवैको ४-४ अंक भएको छ । नेपाल र अफगानिस्तान अंकविहीन छन् ।
१९८ रनको लक्ष्य पाकिस्तानले आज १४ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि अजान अविसले अविजित ६३ रन बनाए ।
नेपालका लागि आकास चन्दले ३ तथा दिपेश कँडेल र आकास त्रिपाठीले १-१ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेलेर सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।
नेपालका लागि विपिन रावतले सर्वाधिक ३९ रन बनाए । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया