
काठमाडौं : आयोजक कतार घरेलु भूमिमा जारी एएफसी एसिया कप फुटबलको अन्तिम आठमा पुगेको छ।
सोमबार साँझ अल खोरस्थित अल बेट रंगशालामा सम्पन्न चौथो प्रि–क्वार्टरफाइनल खेलमा प्यालेष्टाइनलाई २–१ ले पाखा लगाउँदै कतारले क्वार्टरफाइनलमा स्थान बनाएको हो।
खेलमा सुरुवाती अग्रता प्यालेष्टाइनले लिएको थियो। उसका लागि खेलको ३७ औँ मिनेटमा दब्बागले गोल गरे।
आयोजक कतारका लागि अलहे दोसले पहिलो हाफमाको इन्जुरी समयमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए।
दोस्रो हाफको सुरुमै अर्को गोल कतारले थप्यो। खेलको ४९ औँ मिनेटमा अफिफले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक सावित भयो, जसका कारण कतारले क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।
अब कतारले उज्वेकिस्तान र थाइल्याण्डबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि भिड्नेछ।
प्रतिक्रिया