Pura Samachar

पूर्वराजदूत पुरीले भने -राजासँग सम्झौता भएको छ, ओलीले राजसंस्था फर्काउन सक्छन्

प्रकाशित: December 27, 2020
पूरा समाचार

पूर्वराजदूत पुरीले भने -राजासँग सम्झौता भएको छ, ओलीले राजसंस्था फर्काउन सक्छन्

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेपालका लागि भारतीय पूर्वराजदूत मन्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउन सक्ने बताएका छन् ।

उनले भनेका छन्, ” राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुन सक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।”

भारतीय पत्रिका ‘द ट्रिब्युन‘ मा प्रकाशित एक लेखमार्फत राजदूत पुरीले राजसंस्था फर्काउने विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच केही सहमति भएको हुनसक्ने समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि आफू ‘सांस्कृतिक राजा’ का पक्षमा रहेको बताउने गरेको उल्लेख गर्दै पूर्वराजदूत पुरीले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने विश्लेषण गरेका छन् ।

पछिल्लो समय देशभर राजावादीको प्रदर्शन हुन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित नेपालकै कतिपय राजनीतिक दलले समेत प्रधानमन्त्री ओली राजावादीप्रति ‘नरम’ देखिएको आरोप लगाइरहेका छन् ।

“संसदको विघटनले नेपाली राजनीतिमा भइरहेको कुराहरुलाई प्रष्ट पार्दछ । भारत यसपटक नेपालको आन्तरिक राजनीतिबाट टाढा छ,” उनले भनेका छन् ।

नेपालले प्रजातन्त्रको स्थापनाका लागि लामो समयदेखि संघर्ष गरेको र जनतामा राजनीतिक सशक्तिकरणको तीव्र भावना विकास गरेको पूर्वराजदूत पुरीले बताएका छन् ।

नेपाली राजनीतिज्ञहरुको आफ्नो राजनीतिलाई टेवा दिन भारतविरोधी भावनालाई बढाउने गरेकोसमेत उनले उल्लेख गरेका छन् । उनलाई यसलाई नेपाली राजनीतिज्ञहरुको सामान्य तरीका भनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “यसको प्रमाण केहि महिना अगाडि जब ओलीको सत्तामाथि अत्यन्तै दबाबमा परेको थियो, त्यससमय एउटा कार्टोग्राफिक साहसिक कार्यको माध्यमबाट भारतीय भूभागमा दावी राखेर एक अति राष्ट्रवादी छवी बनाएका थिए ।”

प्रतिक्रिया