Pura Samachar

सुशासनको कमजोर अवस्थामा आशाको दियो

प्रकाशित: March 24, 2024
पूरा समाचार

सुशासनको कमजोर अवस्थामा आशाको दियो

 

डा. डी .आर उपाध्याय खनाल

काठमाडौं । पछिल्लो समयमा आएर सरकारले जनतामा केही आशा जगाउने कामको थालनी सुरु गर्दै छ । सुन तस्करको आरोपमा भिआइपी नै अनुसन्धानको दायरामा तानिएपछि अब सरकारले केही गर्छ कि भन्ने आस जागेको छ । सधैंभरि सरकारको आलोचना गर्न कसैलाई रहर हुँदैन, देशमा राम्रो काम नभएपछि जनताले सरकारको आलोचना गर्नु स्वाभाविक नै हो । पछिल्लो समयमा आएर सरकारले उठाएका कदमप्रति जनता खुशी नै भएका छन् । सरकारको यो कदम मौसमी गतिविधिमात्र हो कि निरन्तरता पनि पाउँछ भन्ने कुरा मुख्य प्रश्न बनेर खडा भएको छ ।

विशेष गरेर गृहमन्त्री रवि लामिछानेको सक्रियताले वर्तमान सरकार लोकप्रिय बन्दै जानथालेको छ । गृहमन्त्री लामिछानेले जुनसुकै दोषीलाई नछाडने प्रतिबद्धता जनाएका छन् । उनको आँट र साहसलाई सबैले मान्नै पर्छ । देशमा सुशासन कायम गर्न यस्तै आँटिलो मन्त्रीको आवश्यकता हुन्छ । रविजस्तै अरू मन्त्री पनि सक्रिय बन्ने हो भने यो देशमा तस्कर र भ्रष्टाचारीहरूको भागाभाग हुने थियो र, अन्त्यमा कानुनको दायरामा नआई सुखै हुने थिएन । आज देशमा जे भइरहेको छ राम्रै हुनका लागि भइरहेको छ भन्ने आस गर्न सकिन्छ ।

व्यापार, व्यवसाय केही नभएका नेताहरूको देशका विभिन्न शहरमा घरघडेरी छन् । त्यो कसरी सम्भव भयो । जनताको नाम भजाएर अकूत सम्पत्ति जोड्ने नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । यो काम वर्तमान सरकारले गर्नुपर्छ । विगतमा जस्तो कमजोरी गरेर अब देश बन्दैन ।

यसअघि सरकारका काम कारबाहीप्रति असहमति जनाउँदै थुप्रै आलेख मैले पनि लेखेँ । जे देख्यो त्यही लेख्ने बानी र इमान मसँग छ । कसैको लिनु र खानु मलाई छैन । त्यसैले म कसैसँग पनि डराउँदिन । देश र जनताको पक्षमा राम्रो काम हुँदै गयो भने हामी सबैले साथ र सहयोग गर्नुपर्ने जरुरी हुन्छ । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय पनि हो यो । अब सरकार इमानका साथ अघि बढनुपर्ने जरुरी देखिएको छ । देश र जनतालाई धोका दिनेप्रति खरो भएर उत्रनुपर्छ । लामो समयदेखि जनता दुःख व्यहोर्दै आएका छन् । देशमा ठूला ठूला परिवर्तन भएर ती परिवर्तन जनताको बलमा मात्र सम्भव भएका हुन् । देशमा व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ ।

अब सरकार जनताको अवस्था बदल्न अघि बढ्नुपर्छ । त्यसो भयो भनेमात्र जनताको मुहारमा खुशीयाली छाउने छ । जनताको मुहारमा खुशीयाली छायो भनेमात्र यो लोकतन्त्र बलियो बन्छ । लोकतन्त्र बलियो भयो भनेमात्र दलहरूको अस्तित्व रहन्छ । आज देशमा केही तत्वहरू लोकतन्त्र कमजोर बनाउन सक्रिय बनिरहेका छन् । उनीहरूको सपना पूरा हुन नदिन सरकारले राम्रो काम गरेर देखाउनुपर्छ । देशमा सुशासन कायम हुँदा धेरै राम्रो हुन्छ । कुशासनले गर्दा देश बर्बाद भएको हो । यो देश सपार्न आँट र साहस भएको नेता चाहिन्छ । देशले त्यो खोजिरहेको छ । लोभी पापीहरूको झुण्डले देश बर्बाद बनाउँदै आएका छन् । अब वर्तमान सरकारले विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

राजनीतिक परिवर्तनको औचित्य व्यवहारमा पुष्टि गर्न सक्नुपर्छ । शासन–प्रशासन चलाउने राजनीतिक दलका नेता र कार्यकर्ता, कर्मचारीतन्त्र देश र जनताप्रति जिम्मेवार एवं संवेदनशील हुन जरुरी छ । कमिसन, भ्रष्टाचार र ठगी गरेर राज्यको स्रोतको दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

सत्ताको दुरूपयोग गरेर व्यक्तिगत इच्छा पूर्ति गर्ने र राज्य व्यवस्थालाई नै बद्नाम गराउने काम राजनीतिक नेतृत्वबाट पटक–पटक हुने गरेको छ । यो कुरा सबै नेपाली जनतालाई अवगत भएको कुरा हो । व्यापार, व्यवसाय केही नभएका नेताहरूको देशका विभिन्न शहरमा घर घडेरी छन् । त्यो कसरी सम्भव भयो । जनताको नाम भजाएर अकूत सम्पत्ति जोड्ने नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । यो काम वर्तमान सरकारले गर्नुपर्छ । विगतमा जस्तो कमजोरी गरेर अब देश बन्दैन । देश बनाउन सबै त्यागेर अघि बढ्नुपर्छ । लोभलालच सबैभन्दा पहिला त्याग्नुपर्छ । नेताहरूमा लोभलालच बढी हुनाले देश बन्न नसकेको हो ।

अनियमितताको विषयमा छानबिन गर्न आयोगहरू बने तर त्यसलाई सरकारले खासै कार्यान्वयन गरेको देखिएन । जनआक्रोश मत्थर गर्न आयोग गठन हुने तर आयोगले गरेको सिफारिश खासै कार्यान्वयन नहुने यस्तो पनि देखियो । यसका कारण दलीय व्यवस्थाप्रति जनतामा नैराश्य पैदा हुन थालेको छ । यसो हुन नदिन सरकार गतिका साथ अघि बढ्नुपर्छ । चित्तबुझ्दो काम गरेर जनताको मन जित्न सक्नुपर्छ । हरेक नेपालीको मुखमा हाँसो ल्याउने काम सरकारले गर्नुपर्छ ।
साभार हिमालय टाइम्स

प्रतिक्रिया