
कपिलवस्तु। थ्रीस्टार क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० को सेमिफाइनमा पुगेको छ।
कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको हो।
थ्रीस्टारका लागि निरज चौधरीले २ गोल गरे। यस्तै, दिपेश घलेको नाममा १ गोल रह्यो।
खेलको ३२औँ मिनेटमै थ्रीस्टारले निरजको गोलमार्फत् अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि दिपेशले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाए।
पहिलो हाफ २–० गोल अन्तरले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा थप १ गोल गर्यो। थ्रीस्टारका निरजले नै ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। निरज नै खेलको म्यान अफ दी म्याच घोषित भए।
थ्रीस्टारले फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लब र साहारा क्लब पोखराबीचको विजेतासँग खेल्ने छ।
यी दुई टोलीले सोमबार खेल्ने छन्। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।
प्रतिक्रिया