Pura Samachar

मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

प्रकाशित: April 3, 2024
पूरा समाचार

मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

मोरङ- सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको क्वाटरपाइनलमा भारतको कोलकताको साउथर्न समितिलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

मछिन्द्रको जितसँगै गोल्डकपको सेमीफाइनल समीकरण पूरा भएको छ। गोल्डकपका प्रचार प्रसार संयोजक ध्रुव सिग्देलका अनुसार सेमीफाइनल समीकरण पुरा भएसँगै बुधबार पहिलो सेमीफाइनलमा सशस्त्र प्रहरी बलको टोली एपीएफले घरेलु टोली मोरङको सामना गर्ने छ। त्यसैगरी, बिहीबार हुने दोस्रो सेमीफाइनलमा सिक्किम ड्रायगन्सले मच्छिन्द्रको सामना गर्ने छ।

अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रले साउर्थन समितिलाई संघर्षपूर्ण खेलमा जित निकालेको थियो । विमल घर्तीमगर विना मैदानमा उत्रिएको मच्छिन्द्रका लागि खेलको १० औं मिनेटमा गोलको अवसर बनेको थियो । मनिष डाँगीको सटिक पासमा अग्रपंक्तिका स्टेफन विनोङले मध्यभागबाट एक्लैअघि बढाउदै गोल गर्न सफल भए । यसक्रममा कोलकताका गोलकिपर सुरज मल्किलाई विट गर्दै स्टेफनले गोल गरेका थिए ।

त्यसपछि, आक्रमक रुपमा अघि बढेको समितिका खेलाडीले खेल बरावरीमा पुराउन ३२ मिनेट कुर्नुपर्यो । खेलको ३२ औं मिनेटमा सत्रिय बक्शीको पासमा सोनु हाल्दारले बरावरी गोल फर्काए। पहिलो हाफ समान एक गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा दुवै टोली गोलका लागि मैदानमा संघर्षरत रहे । आक्रमक रणनीतिसहित मैदानमा उत्रिएको मच्छिन्द्रले खेलको ५५ औं मिनेटमा गोल गर्दै अग्रता बनायो ।

डिबक्सभित्र सनिश श्रेष्ठले मिलाइदिएको पासमा स्टेफन विनोङले टोलीको लागि दोस्रो गोल पुरा गरे । यससँगै खेलमा जित हात पारेको मच्छिन्द्रले बिहीबार सेमीफाइलन खेल्ने तय भएको छ । तेस्रोपटक नेपालमा म्याच खेलेको समितिका क्याप्टेन सुमन दत्तका अनुसार खेलाडीले पूरा समय शतप्रतिशत नतिजा दिएको बताए ।

ट्रेनको यात्रा लामो भएको हँदा केही खेलाडी थकित अवस्थामा रहेको बताएका क्याप्टेन दत्तले खेलाडीले फिनिसिङ राम्रो गर्न नसक्दा पराजय भोग्नु परेको बताए ।

यसअघि, साउर्थन समिति पोखरामा पहिलो खेल र काठमाडौंमा दोस्रो खेलमा हार ब्यहोर्दै घर फर्किएको थियो। जित हात पारेपछि मच्छिन्द्रका क्याप्टेन विशाल श्रेष्ठले योजनासहित रणनीति बनाएर खेल्दा जित हात पारेको बताए ।

विपक्षी टोलीको मुभलाई ध्यानमा राख्दै आक्रमक शैलीलाई निरन्तरता दिँदा गोल गर्न सफल भएको बताएका क्याप्टेन श्रेष्ठले टोलीले सन्तुलित र राम्रो खेलको प्रदर्शन गरेको प्रस्ट्याए।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले आवश्यक्ता अनुसार सेमीफाइनलमा विमल घर्तीमगरलाई सेटमा राख्ने योजनामा रहेको बताए ।

प्रतिक्रिया