
बारा। एपिएफ फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
तीव्र हावाका कारण बिहीबार स्थगित खेल शुक्रबार बिहान खेलाउँदा फ्रेन्डस क्लबलाई हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। अन्तिम क्वाटरफाइनलमा एपिएफ २-० ले विजयी भएको थियो।
बिहीबार ५८ औं मिनेटमा तीव्र गतिमा हावाहुरी चलेपछि खेल स्थगित गरिएको थियो। शुक्रबार त्यहिबाट खेलअघि बढाउँदै बाँकी ३२ मिनेट खेलाइएको थियो।
खेलको ७३ औं मिनटमा बुद्धिमान राईले गोल गर्दै एपिएफलााई अग्रता दिलाउन सफल भए ।
अनिश महर्जको पासमस बुद्धिमानले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।
१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफको अग्रता दोब्बर बन्यो । एपिएफका अनिशको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । एपिएफका बुद्धिमान राई प्लेयर अफ दि म्याच चुनिए र उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।
एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पूरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग शनिबार सेमिफाइनल खेल्नेछ । शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबबीच पहिलो सेमिफाइनल हुनेछ ।
प्रतिक्रिया