Pura Samachar

चिनियाँ विज्ञको प्रश्‍न – नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्यमा भारतको टाउको दुखाइ किन ?

प्रकाशित: December 31, 2020
पूरा समाचार

चिनियाँ विज्ञको प्रश्‍न – नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्यमा भारतको टाउको दुखाइ किन ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको सहमतिमा पूर्वमाओवादी र पूर्माएमालेबीचको गठबन्धन हुँदै एकतादेखि हालसम्मको स्थितिलाई नेपालका छिमेकीदेखि अन्य मुलुकहरुले निकै चासोका साथ हेरिरहेका छन् ।

सन् २०१८ मा भएको नेकपा एकतामा बाह्य हात रहेको भन्दै चीनतर्फ इशारा गरिरहेका राजनीतिक विश्लेषकहरुलाई थप पुष्टि गर्ने आधारहरु प्राप्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते एकाएक संसद्‌ विघटन गरेपछि नेकपा विभाजनको मार्ग खुल्यो । नेकपा विभाजनतर्फ गएपछि एकाएक चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री नेतृत्वको चार सदस्यीय टोली काठमाडौं अवतरण गर्‍यो ।

चिनियाँ टोलीको काठमाडौं अवतरणपछि भारतीय सञ्‍चार माध्यमहरुले निकै नजिकबाट घटना क्रमहरुको अवलोकन गरेका छन् । चिनियाँ सरकारी सञ्‍चार माध्यम ‘ग्लोबल टाइम्स’ ले केही भारतीय मिडियाहरुले ‘नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप’ गरेको भन्दै गलत प्रचार र आलोचना गरिरहेको उल्लेख गरेको छ ।

ग्लोबल टाइम्समा भनिएको छ, “भारतले वास्तवमै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने सबैभन्दा ठूलो बाह्यशक्तिको रुपमा काम गरिरहेको छ ।”

चिनियाँ विज्ञहरुले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सहकार्यमा भारतले टाउको दुखाइ किन भएको भन्दै प्रश्‍न गरेको ‘ग्लोबल टाइम्स’ ले उल्लेख गरेको छ । टाइम्समा भनिएको छ, “नेपालको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सहकार्यमा भारतले टाउको दुखाइ हुन आवश्यक छैन ।”

चिनियाँ विदेश मन्त्रालयले नेपालको महामारी नियन्त्रण, शासन सत्ता र आपसी हितका अन्य मुद्दाहरुमा छलफल गर्नका लागि चिनियाँ कम्युनिस्ट नेतृत्वको प्रतिनिधि मण्डलको टोली नेपाल आएको बताएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले भने, “सीपीसीले नेपालका प्रमुख राजनीतिक दलहरुसँग नजिक र मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ… । यस वर्ष नेपाल-चीनबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्ष पूरा भएको छ ।”

नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको टोली बुधबार स्वदेश फर्किएको छ । उक्त टोलीले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रतिपक्षी दलका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको थियो ।

 

प्रतिक्रिया