Pura Samachar

जेष्ठ महिनाकाे राशिफल

प्रकाशित: May 15, 2024
पूरा समाचार

जेष्ठ महिनाकाे राशिफल

 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई जेठ महिनामा विद्या, बुद्धि र श्रमको माध्यमबाट विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। अध्ययन, अनुसन्धान र लेखनतर्फ जुट्नेहरूलाई समयले साथ दिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। धन र शक्तिको उपयोग गर्नेहरूलाई भने महिना उतारचढावमय रहने देखिन्छ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्ने सम्भावाना छ, सावधान रहनुहोला। चिताएको काम रोकिने हुँदा चिन्ता बढ्न सक्छ। विशेष गरी काम बनाइदिन्छु भन्नेहरूले झुक्याउन सक्छन्। भएको धनमाल हराउने, नष्ट हुने वा ठगीमा परिने सम्भावना रहेकाले व्यवहारमा सजग रहनुपर्ने समय छ। अनावश्यक किनमेल तथा मर्मत–सम्भारमा अधिक खर्च हुनेछ। सरसापट, उधारो व्यापार र असुरक्षित लगानीतर्फ रकम बाहिरिन सक्छ, जुन उठाउन मुस्किल पर्नेछ। विदेश ताक्नेहरूले पनि केही समय पर्खनु बुद्धिमानी हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई जेठ महिनामा स्वास्थ्य कमजोर रहनेछ तर कामको नतिजाले उत्साह जगाउनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर मान–सम्मान प्राप्त गर्न सकिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य वस्तुहरू संग्रह गर्ने समय छ। समाजका अगुवासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा नेतृत्व लिने अवसर प्राप्त हुनेछ। तर मनमा उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा केही उतारचढाव पनि आउनेछन्। वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताइरहनेछ। अनावश्यक अडानले सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुग्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई जेठ महिनामा नसोचेको व्यवधान आइपर्ने, काम रोकिने र खर्च बढ्ने सम्भावना छ। लागत अध्ययन नगरी काम थाल्नाले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। उठ्नुपर्ने रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्न सक्छ। फजुल खर्च, स्वास्थ्य बाधा र कानुनी अड्चनले जोशजाँगरमा कमी आउनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि आफ्नो प्रभाव कमजोर बन्ने समय छ। सहयोगको आशा देखाउनेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। नियमित काममा आम्दानी घट्न सक्छ। व्यवसायमा नाफाभन्दा निर्वाहमूलक कार्य गर्न बाध्य भइनेछ। प्रतिकूल समयमा कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेत गर्दा विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र लेखनमा सुधार आउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई जेठ महिना उत्साहवर्धक रहनेछ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका कामले गति लिनुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। हराएको नगद प्राप्त हुनेछ। व्यापार घाटा, उधारो तथा सरसापटमा गएको रकम समेत उठाउन सकिनेछ। सेयर तथा साझेदारीमा फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत विभिन्न भौतिक साधनसमेत जुटाउने समय छ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ। विद्यार्थीहरूको अध्ययनमा पनि प्रगति हुनेछ, मिहिनेत गर्नुहोला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई जेठ महिनामा स्वास्थ्य कमजोर देखिए पनि कर्मले उचाइमा पुर्याउनेछ। जटिल काममा जुट्नुपरे पनि पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। कर्मक्षेत्रमा आउने चुनौती र बाधा हट्नेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। देशविदेशको यात्रा पनि हुन सक्छ। स्वास्थ्यका लागि सन्तुलित आहार, व्यायाम र विश्राममा भने ध्यान पुर्याउनुपर्ने समय छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई जेठ महिना सामान्य फलदायी रहनेछ। योजना ठूलो बन्नेछ। तर मिहिनेत गर्दागर्दै पनि काममा केही चुनौती देखापर्नेछन्। आपसी मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। तापनि सहयोगीहरूको साथ–सहयोग प्राप्त हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। समय लागे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। तत्काललाई सेयर तथा लगानीको मूल्य कमजोर हुनाले लाभांश घट्न सक्छ। नयाँ योजना अघि बढाउन नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सफल भइनेछ, मिहिनेत गर्नुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई जेठ महिना केही संघर्षमय रहनेछ। स्वास्थ्य कमजोर बन्नुका साथै काममा बाधा पर्न सक्छ। पेसा–व्यवसायमा गरेको लगानी अड्किन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने परिस्थिति रहनेछ। काम रोकिनाले आयस्रोत कमजोर बन्नेछ भने सञ्चित रकम खर्च हुनाले अर्थ अभाव देखापर्ने सम्भावना छ। भ्रष्ट व्यक्तिहरूले दुःख दिनेछन्। राजनीतिक तथा सामाजिक प्रभाव समेत कमजोर बन्ने समय छ। अस्वस्थताले जोस–जाँगरमा कमी आउनेछ र मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। अप्ठ्यारो समयमा आफ्नाले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। चोटपटकको योग भएकाले उपकरण र हतियारको उपयोग सावधानीसाथ गर्नुहोला। धैर्यसाथ प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। सावधानीले उपलब्धि जोगिनेछ र लगनशीलताले काम बन्नेछ। अवसरका लागि केही दौडधुप भने गर्नुपर्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई जेठ महिनामा पारिवारिक माहोल असन्तुलित बन्नाले सामाजिक प्रभावसमेत कमजोर बन्नेछ। परिवेश रमाइलो देखिए पनि व्यावहारिक समस्या आइरहनेछन्। आलस्य गर्ने प्रवृत्तिले काम रोकिने र आर्थिक क्रियाकलापमा मन्दी आउने सम्भावना छ। विद्यार्थीहरूमा पनि अध्ययन नगर्ने प्रवृत्तिले कमजोर भएनेछ। परिस्थितिवश साथीभाइ र शुभचिन्तकहरू असन्तुष्ट बन्नेछन्। घर–परिवारमा असमझदारी बढ्नेछ भने सहयोगी र साझेदार समेत टाढिन सक्छन्। केही समस्या सुल्झाउनैपर्ने चुनौती आउन सक्छ। तापनि पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। फाइदा कम भए पनि व्यापारले व्यवहार निर्वाह हुनेछ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउने प्रयत्न गर्नुहोला। महिनाको उत्तरार्धमा स्थिति अनुकूल बन्नाले विशेष लाभ हुनेछ। मिहिनेत गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई जेठ महिनामा केही उपलब्धि हासिल गर्न सकिनेछ। चिताएको काम बन्नाले महिना उत्साहवर्धक रहनेछ। प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुने समय छ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा आफन्त र शुभचिन्तकले साथ दिनेछन्। भूमि, आवश्यक भौतिक साधन, सवारी आदि जोड्ने समय छ। तर स्वास्थ्य कमजोर हुनेहरूलाई भने छाती, फोक्सो, दम वा मौसमी समस्याले सताउन सक्छ। कृषि तथा पशुपालनमा नयाँखाले समस्या आउने सम्भावना छ। अरूको उक्साहटमा लाग्दा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। सानो विवादले परिवारमा विग्रह निम्त्याउने सम्भावना देखिएकाले सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले काम लिँदा फाइदा हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई जेठ महिना मध्यम फलदायी रहनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। धेरै आर्जन गर्न नसकिए पनि दिगो काम थालनी हुनेछ। निर्वाहमूलक पेसा–व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुपालनमा विशेष फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। प्रयत्न गर्दा घरमै बसेर राम्रो आम्दानी हातपार्न सकिनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। लेखन कलामा पनि सुधार ल्याउने प्रयत्न गर्नुहोला, क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान दिनुहोला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई जेठ महिनामा पुराना समस्या दोहोरिन सक्छन्। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। स्रोत सबल देखिए पनि अज्ञानता र बलजफ्तीले काम बिग्रन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल असन्तुलित बन्ने सम्भावना छ। तापनि अप्ठ्यारो समयमा सहयोगीहरूले साथ दिनेछन्। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। पेसा–व्यवसायमा नयाँ योजना थाल्न अनुकूल साइत पर्खनुहोला। कृषि र पशुपालनतर्फ लाभ हुनेछ। उठ्नुपर्ने रकम अड्किन सक्छ, समयमै आर्थिक सन्तुलन मिलाउनुहोला। केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई जेठ महिना निकै लाभदायक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भित्र्याउने समय छ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। उच्च महत्त्वाकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। अरूको सहमतिविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। बोलीको लय कठोर बन्नाले सहयोगीहरू टाढिन सक्छन्। जटिल काम एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। विवादबाट टाढा रहनुहोला र व्यवहारले परिस्थिति अनुकूल बनाइराख्ने प्रयास गर्नुहोला।

 

प्रतिक्रिया