Pura Samachar

एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदै

प्रकाशित: July 23, 2024
पूरा समाचार

एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदै

काठमाडौं। एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदैछन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ए को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।

खेल नेपाली समयअनुसार साँझ ७: १५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भारतले ३५ बल बाँकी रहँदै पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७८ रनले पराजित गर्दै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो।

यो खेलमा भारतले पहिलो पटक टी–२० आईमा २०० रनको योगफल बनाएको थियो। अहिलेसम्म भारतीय टोली यस प्रतियोगिताको दाबेदार देखिएको छ। यो खेल जितेर भारतले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

शेफाली वर्माका लागि यो प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट रहेको छ। दुवै खेलमा उनले आक्रामक ब्याटिङ गर्दै भारतीय टोलीलाई द्रुत सुरुआत दिलाएकी छन्। तर, उनले दुवै खेलमा अर्धशतक बनाउन सकिनन्। अहिलेसम्म दुई खेलमा शेफालीले ३८.५० को औसतमा ७७ रन बनाएकी छन्।

नेपालले युएईलाई हराउँदै एक मात्र जित हात पारेको छ। सन् २०१२ र २०१६ को प्रतियोगितामा आठ खेल खेलेपनि नेपालले कुनै जित हासिल गर्न सकेको थिएन। तर, शुक्रबार सम्पन्न खेलमा नेपालले २३ बल बाँकी छदै युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कपमा ऐतिहासिक जित हासिल गरेको थियो। तर, दोस्रो खेलमा भने नेपालले त्यो लय समात्न सकेन।

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। तर, फिल्डर फिल्डिङमा र बलर लाइन तथा लेन्थमा चुक्दा नेपाल नौ विकेटले पराजित हुन पुगेको थियो। भारविरुद्धको खेलमा नेपाल त्यो क्षेत्रमा सुधार गर्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।

नेपाली टोलीकी ओपनर सम्झना खड्का प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन्। उनले दुई खेलमा १५२ को स्ट्राइक रेट र ७६.०० को औसतमा ७६ रन बनाएकी छन्। जसमा यूएईविरुद्ध उनको ७२ रनको अपराजित इनिङ्स पनि समावेश छ।

भारतसँग जित हासिल गरेर मात्रै नेपाल सेमिफाइनलमा पुग्दैन। मंगलबार नै हुने पहिलो खेलमा युएईले पाकिस्तानलाई पराजित गरेमात्रै नेपालले अन्तिम चारमा स्थान बनाउने छ। अन्यर्था नेपाल समूहचरणबाटै बाहिरिने छ।

टोली:
भारत: हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), अरुन्धती रेड्डी, शोभना आशा, ऋचा घोष, उमा क्षेत्री, जेमिमाह रोड्रिग्स, दिप्ती शर्मा, राधा यादव, रेणुका सिंह, पूजा वस्त्रकार, शेफाली वर्मा, श्रेयंका पाटिल, सञ्जेभान सजना, दयालन हेमलता

नेपालः रोमा थापा (विकेटकिपर ब्याट्सम्यान), सम्मान खड्का, पूजा महतो, काजल श्रेष्ठ (विकेटकिपर ब्याट्सम्यान), इन्दु बर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, सीता राना मगर, विन्दु रावल, रुबिना क्षेत्री, कृतिका मरासिनी, राजमती ऐरी, डली भट्ट, ममता चौधरी

प्रतिक्रिया